सोमपालको उत्कृष्ट ब्याटिङमा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

काठमाडौँ । नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको छ । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पाकिस्तान ए सँगको खेलमा ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीको सर्वाधिक ७५ रनको योगदान महत्वपूर्ण रह्यो । सुरुवातको १० ओभर खेल्दा नेपालका ६ ब्याटर आउट भइसकेका थिए ।

नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । नवौं विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए ।

प्रतिशले २४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । १५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट उक्त योगफल बनाउन नेपाल सफल भयो । लय गुमाएको नेपालको खेललाई सोमपालले लयमा ल्याएका थिए ।

१० औँ विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको महत्वपूर्ण साझेदारी गरे । राजवंशीले १ रन बनाएर अविजित रहे ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भीम सार्की ०, अर्जुन साउद १७, वन सरार्फ १, कुशल मल्ल १७, गुल्शन झा १३ रन बनाएर आउट भएका थिए ।

पाकिस्तान ए का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो ।

जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको नेपाल र पाकिस्तान ए रहेका छन् ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाइट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =