बाबु बिरामी भनेर बिदा लिएका सचिव राउत देश छाडेर भाग्ने तयारीमा थिए

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत देश छाडेर भाग्ने तयारीमा रहेको खुलेको छ। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्दै गर्दा पक्राउ गरेको थियो।
सचिव राउतले मन्त्रालयमा भने बाबु बिरामी भनेर बिदा स्वीकृत गराएका थिए। मन्त्री रेखा शर्मालाई पनि सोही जानकारी गराएका थिए। राउत बालुवाटार जग्गा प्रकरणमा जोडिएका कारण पनि उनी प्रहरीको निगरानीमा थिए।
यसअघि पक्राउ परेकाले सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको मुद्दा हालेका कारण प्रहरी त्यो मुद्दा टुंगिएपछि मात्रै आक्रामक रुपमा अघि बढ्ने योजनामा छ।
तर राउतले प्रहरीले निगरानी बढाएको चाल पाए। उनी विराटनगर जानका लागि आइतबार विमानस्थल पुगेका थिए। उनलाई विमानस्थलभित्रैबाट प्रहरीले पक्राउ गरेको हो।
उनी विराटनगरबाट भारत भाग्न लागेको प्रहरीको आशंका छ। सोही आशंकाका कारण प्रहरीले उनलाई तत्काल पक्राउ गरेको हो।
राउत भौतिक पूर्वाधार मन्त्रालयको शाखा अधिकृत हुँदा २०६६÷०६७ सालमा ललिता निवास जग्गा प्रकरणमा टिप्पणी उठाउने कार्यमा संलग्न रहेको आरोप छ।
यससँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ। यसअघि आइतबार नै दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो।
पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीका पूर्व प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको सीआइबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, धर्मप्रसाद गौतम, गोपाल कार्की, शिवजी भट्टराई, बाबुराजा महर्जन, घमनकुमार कार्की, रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको छ।
तर यो प्रकरणमा सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ अनुमति लिइसकेको छ।








