इक्यान अध्यक्षमा भट्टराईको उम्मेदवारी घोषणा

काठमाडौँ । शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । आगामी असार ३० गते हुने अधिवेशनबाट चुनिने नेतृत्वका लागि भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि संघको महासचिव र उपाध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका भट्टराईले आइतबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘केही विद्यमान समस्याको समाधान गर्नुछ, केही दूरगामी महत्त्व राख्ने प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्नुछ । समग्रमा देशको शैक्षिक जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा मेरो भूमिका हुनेछ । त्यसकै लागि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’
सकेसम्म सर्वसम्मत ढंगमा नै आफूले नेतृत्व पाउनेमा भट्टराई आशावादी रहेको बताए । सर्वसम्मत हुन नसके लोकतान्त्रिक विधिबाट अघि बढ्ने बताउँदै ‘निर्वाचनै हुने स्थिति आउँदा पनि साथीहरूले मलाई नेतृत्वको जिम्मा दिनुहुन्छ भन्नेमा ढुक्क छु’, उनले भने ।
भट्टराई अर्विट इन्टरनेशनलका सञ्चालक हुन् ।









