विवेकशील साझाले सार्वजनिक गर्यो साँस्कृतिक मानचित्र

विवेकशील साझा पार्टीले नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको छ।
शुक्रबार ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गर्दै मानचित्र सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ।
पार्टीले नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियानसमेत चलाउने बताएको छ।
‘अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझाले ‘ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र’ सार्वजनिक गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ।
सुगौली सन्धी अगाडिको नेपालको भू-भाग र वर्तमान भू-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारिएको छ।
भारतले नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनीजस्ता नेपालका ऐतिहासिक भू-भागलाई समेत राखेर ‘अखण्ड भारत’को नयाँ नक्सा राखेको थियो। यसप्रति नेपाल सरकारले ओैपचारिक खण्डन नगरेको र कुटनीतिक नोटसमेत नपठाएको विवेकशील साझाको भनाइ छ।
भारत अतिक्रमित नेपालको भूमी लिपुलेक-लिम्पियाधुरा-कालापानी र अतिक्रमित अन्य सम्पूर्ण भू-भाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीले बताएको छ।








