महिला सांसदले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको छ : मन्त्री गुरुङ
२०८० असार १५ गते

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरूले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको बताएका छन् ।
शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिला सांसदहरूले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताए ।
उनले महिलाहरूले विषयको गम्भीरतालाई बुझेर मिहेनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गरे । उनले पुरुष सांसदहरूले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित आफ्ना धारणा राख्दा संसद्को गरिमा बढ्ने बताए ।
उनले भने ‘महिला माननीय ज्युहरूको भूमिकाले संसद तिखारिँदै गएको छ । अझै पनि उहाँहरूको भूमिकाले तिखारिँदै जानेछ जस्तो मलाई लाग्छ । कहिले काहीँ हामीले बोल्दा पछि पश्चताप लाग्छ, छेउ न टुप्पोको कुरा बोलेँ की जस्तो मलाई पनि लाग्छ, पश्चताप हुन्छ । तर महिला दिदिबहीनीहरुले राम्रो कुरा बोल्नु हुन्छ । गम्भीर कुरा गर्नुहुन्छ, मेहनत गरेर बोल्नुहुन्छ । हामी खासै मेहनत गर्दैनौँ, जसले कहिलेकाहीँ छेउ टुप्पो मिल्दैन । हामीले बालेको कुरा कति प्रचार हुन्छ त्यो महत्वपूर्ण होइन, हामीले बोलेको कुराले संसद्को गरिमा कति बढ्छ त्यो महत्वपूर्ण हुन्छ ।’
मन्त्री गुरुङले संसदमा बोल्दै गह्रौ विषयान्तर बढी हुने प्रवृत्ति पनि बढिरहेको बताए । उनले आफू संसदमा तेस्रो पटक आए पनि आफू संसद्को विद्यार्थी रहेको बताए ।
२०८० असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








