मल वितरणमा बदमासी भयो, कारबाही गर्छौं : मन्त्री भुसाल 

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसाल धान रोपाइँमा सहभागी भएका छन् ।
शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रापेका हुन् । उनले रोपाइँ महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोपे ।
उनले रोपाइँमा सहभागी हुनु भन्दा पहिला भएको कार्यक्रममा बोल्दै मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको  १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए । उनले जमिन बाँझो हुनुमा मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा सहरतिर बसाई सर्ने प्रवृतिको विकास, युवाहरू विदेशी जानु र सरकारले पर्याप्त सेवा सुविधाहरू पुर्याउन नसक्नु प्रमुख कारण भएको बताए ।
उनले नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेतीपाती गर्न थालेमा उत्पादन वृद्धि गरी खाद्यान्न निर्यात गर्ने अवस्थामा पुग्नसक्ने दाबी गरे । उनले यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भएपनि बजेट विनियोजन गरेको बताए । उनले बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको आरोप लगाए ।
योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाएकाले कृषि मन्त्रालयको सिलिङमा बजेट कटौती भएको बताए । उनले कार्यक्रममा सहभागी योजना आयोगका सदस्यलाई  योजना आयोगमा बसेर बजेट नदिने तर कृषि कार्यक्रममा आएर ठूला कुरा नगर्न चेतावनी दिए । उनले अहिले मलको अभाव नभएको दाबी गरे ।
उनले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर प्रचार गरिएको बताए । उनले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको बताए । उनले मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बदमासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिए ।
यस्ताे छ उनकाे भनाइ
‘१० लाख ३० हजार हेक्टर जमिन केही वर्ष अघि खेती भएको अहिले बाँझो छ । जमिन बाँझो पर्नुका विभिन्न कारणहरू छन् । पहिलो भनेको मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन हो । मानिसहरूको जीवन शैली गाउँले परिवेशबाट सहरिया परिवेशमा परिवर्तन हुने अवस्था आएको छ । पहाडबाट तराई वा सहरतिर बसाई सर्ने प्रवृति विकास हुनु जमिन बाँझो रहनुको मुख्य कारण हो । युवाहरू वैदेशिक रोजगारीमा जानु र सरकारले पर्याप्त सेवा सुविधाहरू पुर्याउन नसक्नु तथा जङ्गली जनावरहरूको कारण हो । अब फेरि हामीले बाँझो जमिनमा खेतीपाती गर्न थाल्यौँ भने उत्पादन वृद्धि गर्छौँ । उत्पादन वृद्धि भएमा फेरि अन्न निर्यातको अवस्थामा पुग्नसक्छौं । यसतर्फ ध्यान दिएर काम गर्नु पर्ने अवस्था छ । यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति काम गरौँ भनेको थोरै बजेट विनियोजन गरेको छ । तर बजेट अपुग छ । बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट नगन्नय हुनुको प्रमुख बाधक योजना आयोग हो । योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाउँछ । कृषि मन्त्रालयको सिलिङमा पनि कटौती गर्छ । योजना आयोगले कृषि क्षेत्रको कार्यक्रममा आएर गुनासो गरेर हुँदैन । काम गर्ने ठाउँमा गर्नुपर्छ । योजना आयोगमा बसेर बजेट नदिने अनि ठूला कुरा गरेर हुन्छ । प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरेपछि कृषि मन्त्रालयको बजेट नघटाउने अवस्था पुगियो । सरकारले यो वर्ष कृषि क्षेत्रमा जे जस्ता कार्यक्रमहरू ल्याएको छ ती कार्यक्रम सफल बनाउनको लागि अभियान सञ्चालन गरौँ । यो वर्ष ढिलै भएपनि मनसुन सुरु भएको छ । दाबीका साथ भन्छु । अहिले मलको अभाव छैन । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो । अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ । मल वितरणमा बदमासी भएको छ । मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु । दाङका मेयरले मलाई भोट हाल्ने भन्दा बाहेकलाई मल नदिने भन्दै हिँडेका छन् । किसान विरोधी अभियान चलाइएको छ ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =