संसद भवनभित्रैको बेथितिबाट लज्जाबोध भएको रास्वपा सांसद ढकालको टिप्पणी
२०८० असार ५ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सङ्घीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् ।
मङ्गलवार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले संसद सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताएका हुन् ।
त्यसैगरी उनले सङ्घीय संसद सचिवालयमा छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे ।
उनले भने ‘बेथितिका कुराहरू गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो विल्डिङ सहरी विकास मन्त्रालय अन्तरगत पर्दछ । यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु । सहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ । यो वर्ष पनि चुहिन्छ । यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ । यही भित्र संसद सचिवालयका कर्मचारीहरूको खाजा भत्ता छ । मर्यादापालक दाजुभाइ, दिदीबहिनीहरूको १२ घण्टासम्म यहाँ ड्युटी गर्नु हुन्छ । उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाहिँ लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद ढकालले सङ्घीय संसद भवन भित्र आफ्नो आँखा अगाडि भईरहेको बेथिति र विभेद अन्त्य हुनुपर्ने समेत बताए ।
२०८० असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








