माओवादी नेता शर्माद्वारा नागरिकताविहीनको न्यायका लागि सत्याग्रह बस्ने घोषणा
२०८० जेठ ३१ गते

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरूको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् ।
बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधान सभा सदस्यसमेत रहेका उनले नागरिकता विधेयक सम्बन्धी आदेश अविलम्ब सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन् । नागरिकता सम्बन्धी आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला सर्वोच्च अदालतले गर्नुपर्ने उनको माग छ ।
उनले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिए । नेपालको संविधान २०७२ जारी भएको करिब ८ वर्ष भइसकेको र संविधान जारी भएको मितिले ३ वर्ष भित्र सङ्घीय सांसदबाट कानुन बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिएपनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उनले बताए ।
नागरिकता विधेयक सङ्घीय सांसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दा समेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको उनले आरोप लगाए ।
उनले भने ‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली युवाहरूको पिडालाई आत्मसात गत जेठ १७ गतेका दिन नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित भयो ।’ तर षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनैलागि सर्वोच्च अदालतमार्फत षड्यन्त्र सुरु भएको छ ।’
शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।
२०८० जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








