सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको संकेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् । सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन् ।

उनले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरूले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा आपत्ति रहेको बताए । रास्वपा सभापति लामिछानेले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे । ‘‘हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ । त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीरभन्दा पनि गम्भीर आपत्ति छ,’ उनले भने, ‘मतदाताले हामीलाई केही थान मान्छेलाई संसद्मा पठाएको होइन । निश्चित एजेण्डासहित एउटा म्याण्डेड दिएर पठाएको हो । जुन वाचा गरेर हामी आएका थियौँ अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । यसमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्छौँ ।’

लामिछानेले आफूहरूले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताए । माओवादी र कांग्रेसभन्दा एमालेसँग बढी कम्फर्टेबल हो ? भन्ने प्रश्नको जवाफमा लामिछानेले एमालेसँग निकट र कम्फर्टेबेल रहेको कुरालाई गलत भाष्य भएको टिप्पणी गरे , ‘एमालेसँग निकट रहेको कुरा गलत हो, गलत भाष्य हो’, उनले भने, ‘तर हामी आफैँसँग मात्रै कम्फर्टेबल छौँ । हिजो सरकारमा रहँदा एमालेसँग टाँसियो कि भन्ने थियो । तर, एमालेभन्दा पहिले हामीले सरकारबाट बाहिरिने निर्णय गरौँ ।’

उनले त्यसक्रममा आफ्नो बचाउ गर्दै राष्ट्रपति निर्वाचनमा पनि एमालेले सारेका उम्मेदवारलाई भन्दा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको बताए । ‘राष्ट्रपति निर्वाचनमा गठबन्धनलाई सघायौँ । उपराष्ट्रपतिको निर्वाचनमा महिला उठाएकाले जनमतलाई सघायौँ’, लामिछानेले भने, ‘एजेण्डाका आधारमा हाम्रो सबैसँग सहकार्य हुन्छ ।’

उनले अहिले आफू कुनै मन्त्रालय लिने र सरकारमा जाने पक्षमा नरहेको पनि बताए । ‘सरकारमा जाने र मन्त्रालय लिने कुरा अहिले असम्भव छ । यथास्थितिमा सरकारमा गएर मैले मन्त्रालय लिने कुरा सम्भव छैन’, उनले भने, ‘मुलुकको स्थिरताका लागि गर्नुपर्ने निर्णय फरक होला । तर, अहिले सरकारमा जाने सम्भावना एकदमै कम छ ।’ –हिमालय टाइम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =