प्रधानमन्त्रीको भारत भ्रमणमा विद्युत् व्यापारको एजेण्डा उठाउन सांसद शर्माको सुझाव (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा विद्युत् व्यापारको विषयलाई छलफलको प्रमुख एजेण्डा बनाउन सुझाव दिएका छन् । संसदको सोमबारको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।
केही दिनअघि आफू भारत जाँदा त्यहाँका उद्यमी, व्यवसायी तथा विशिष्ट व्यक्तिसँगको भेटमा नेपाल–भारत ऊर्जा व्यापारको विषयमा उनीहरुले जोड दिएको पाएको उनले बताए । नेपाल जलविद्युतकाे ठूलाे बजार रहेकाे र नेपालकाे जलविद्युत् दुवै देशकाे ‘विन–विन सिचुएसन’ (जित–जितकाे अवस्था) हुने गरी बंगलादेशसमेतकाे त्रिदेशीय समन्वयमा उत्पादन र बिक्री गर्ने गरी अघि बढ्नु पर्ने भारतीय व्यवसायीकाे धारणाा पाएकाे उनले बताए ।
‘धेरै प्रधानमन्त्री भारत जानुहुन्छ, आउनुहुन्छ,’ उनले भने, ‘यत्रो वर्षमा हामीले भारतमा जम्माजम्मी ४५२ मेगावाट विजुली मात्रै बिक्री गर्न सकेका छौँ, त्याे पनि बिजुली बढी उत्पादन हुने बर्खा सिजनमा । हामीसँग रहेका सम्भाव्य २३ ओटा जलाशययुक्त आयोजना मात्रै अघि बढाउने हो भने पनि सन् २०३० सम्ममा हामीले ३० हजार मेगावाट बिजुली उत्पादन गर्न सक्ने रहेछौँ । यो बिजुली भारत र बंगलादेशलाई दुवै पक्षको हितमा हुने गरी बिक्री गर्न सक्यौँ भने देशको आर्थिक अवस्था सुधार हुने थियाे ।’
तर, त्यहाँका केही उद्योग, व्यवसायी र विशिष्ट व्यक्तिले नेपालको जलविद्युत् उत्पादनमा पनि भारतीय पक्षकै सहभागिता हुनु पर्ने धारणा राखेकाे उनले बताए । लगानी गर्न अन्य देशका ठूला कम्पनीलाई दिने र ती देशका कम्पनीले उत्पादन गरेको बिजुली भारत र बंगलादेशले नै किनिदिनुपर्छ भन्ने आग्रह वैज्ञानिक नरहेको भारतीय पक्षकाे भनाइ रहेकाे उनले बताए ।
बिजुलीमा जसकाे बजार, उसैलाई उत्पादन गर्न दिनुपर्ने पनि उनले बताए ।
‘त्यसो हुँदा प्रधानमन्त्रीले भारत जानुअघि जसको बजार हो उसैको लगानीलाई पनि ल्याउने गरी समन्वय गर्नेगरी गृहकार्य गरेर भारत जाँदा राम्रो हुने देखिन्छ,’ उनले भने, ‘३० देखि ३५ हजार मेगावाट बिजुली भारत र बंगालादेशमा बिक्री गर्न सक्याैँ भने हाम्राे जलविद्युत उत्पादन हुने, बिक्री पनि हुने र समृद्धि पनि प्राप्त हुने उनले बताए ।’
उनले भारतलाई वर्खा सिजनमा बढी विद्युत चाहिने हुनाले नेपालमा उच्च बाँध बनाएर जलाशययुक्त आयोजनाहरूकाे विकास गरी नेपालले बिजुली बिक्री गर्नु पर्ने बताए । ‘अहिले हामीले नदी प्रवाही आयोजनाकाे बिजुली मात्रै पठाएका छाैँ,’ उनले भने, ‘उनीहरूलाई उच्च बाँधहरू बनाएर जलाशयबाट बाह्रैमास समान क्षमतामा उत्पादन हुने भरपर्दाे विजुली चाहिएकाे छ । त्याे हामीले पूरा गर्न सक्याैँ भने नेपालकाे समृद्धि संभव छ ।’
उनले अब नेपालले भारतलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्नुपर्ने बताए ।
‘हिजो हामीले लिएको भारतसँगको परम्परागत कुटनीतिले केही दरार पैदा गरेको छ,’ उनले भने, ‘अहिलेको भारतमा हाम्रो कालीगण्डकीबाट शालीग्राम लगेर प्राण प्रतिष्ठा गरी भारतका र विश्वका हिन्दुले पूजा गर्न थालेका छन् । नेपालको ढुंगामा पनि प्राण छ भनेर पूजा गरिएको छ । यस्तो अवस्थामा हामीले धार्मिक कुटनीतिलाई अपनाउन सक्नुपर्छ ।’
उनले अब भारतसँगकाे सम्बन्धलाई धार्मिक तथा सांस्कृतिक कुटनीतिकाे माध्यमबाट अघि बढाउनुपर्ने बताए ।









