टिप्पणी : प्रधानमन्त्री बन्ने लाइनमा यसरी पुगे माधव नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष । नेकपा एमालेमा अन्तरसंघर्ष चरम उत्कर्षमा पुग्दा आफूलाई साथ दिने भीम रावल, युवराज ज्ञवाली, रघुजी पन्त, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य लगायतले एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्दा साथ दिएनन् ।

कारण, पार्टी फुटेर बनेको नयाँ पार्टीको भविष्य असुरक्षित छ । आफ्नै टिममा रहेका नेताहरूले असुरक्षित देखेपनि नेपालले नयाँ पार्टी गठनको निर्णय लिए । जसलाई रामकुमारी झाँक्री, बेदुराम भुसाल लगायतको साथ रह्यो ।

चुनाव अगाडिसम्म एमालेले एकीकृत समाजवादीको अस्तित्व स्वीकार गरेन । तर प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जित्यो । त्यसपछि एमाले केही लचक भयो । तर, फेरि पनि एकीकृत समाजवादीसँग लचक भइरहेको थिएन । एउटा उदाहरण- चुनाव अगाडिको पाँच दलीय गठबन्धन बाहिरबाट गत १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्यो ।

चुनाव अगाडिको पाँच दलीय गठबन्धन छाडेर प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बने । प्रचण्डले कांग्रेस बाहेकका चुनाव अगाडिको गठबन्धनमा रहेका एकीकृत समाजवादीसहितका दलहरूलाई सरकारमा सहभागी गराउन खोजे । तर एमालेले अस्वीकार गर्‍यो । अर्थात्, १० पुसमा बनेको गठबन्धनमा समेटिन नसकेको नेकपा एकीकृत समाजवादीले पाँचै वर्ष सरकार बाहिर रहनुपर्ने अवस्था सिर्जना भएको थियो ।

तर, आफैँ प्रधानमन्त्री बन्नेगरी माधव नेपालले १० पुसको गठबन्धन भत्काएर चुनाव अगाडिकै गठबन्धन ब्युँताउन भूमिका खेले । प्रधानमन्त्री बनाउन असहयोग गरेको कांग्रेस, एकीकृत समाजवादी सहितका दलले प्रचण्डलाई विश्वासको मत दिए । सरकारमा सहभागी नभएको दलले विश्वासको मत दिएपछि पूरानै गठबन्धन ब्युँताउने प्रयास भएको सार्वजनिक भएकै थियो । त्यसपछि एमालेले माधव नेपाललाई पार्टी अध्यक्षदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्मको अफर गर्‍यो  । तर, कुटिल चाल भन्दै माधव नेपालले अस्वीकार गरे ।

माधव नेपाललाई प्रधानमन्त्री दिने गठबन्धनमा रहेका दलहरूका बिचमा सहमति जुटेको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला प्रचण्ड दुई वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि एक वर्ष माधव नेपाल प्रधानमन्त्री बन्ने बताउँछन् । ‘दुई वर्षमा प्रधानमन्त्री फेरिन्छन् । एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुनेछ,’ उनले भनेका छन् ।

डा. कोइराला पाँच वर्ष पछिको चुनाव हुने बेलामा शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । नेपाली कांग्रेसले एमालेसँग मिलेर सत्ता सहकार्य गर्ने कतिपय एमाले नेताहरूको अभिव्यक्ति एमालेको स्वार्थी चाहना भएको भनी माधव नेपालले आफूलाई आएको प्रस्ताव अस्वीकार गरेको कांग्रेस नेताहरू बताउँछन् ।

उनीहरू अबको पाँच वर्ष वर्तमान नयाँ समीकरण नै कायम रहने बताइरहेका छन् । गठबन्धनमा विश्वास नचुँडियोस् भन्नेमा हाम्रो ध्यान केन्द्रित छ’, डा.कोइराला भन्छन्, ‘हामी स्थिर सरकार चाहन्छौँ । अस्थिर सरकार भयो भने केही पनि हुँदैन । स्थिरताको हाम्रो प्रयास हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =