राष्ट्रपतिमा अन्तिम निर्णय लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठकले पार्टीको स्वार्थलाई केन्द्रमा राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने  निर्णय गरेकाे छ ।

पार्टी कार्यालय पेरिसडाँडामा साेबबार साँझ बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे पार्टी उपाध्यक्ष  कृष्णबहादुर महराले बताए ।

बैठककाे निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘हाम्राे पार्टीको स्वार्थलाई केन्द्रमा राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने कुरा भएको छ । राष्ट्रपतिकाे उम्मेदवार काे हुने भन्ने व्यक्तिका विषयमा छलफल भएन ।’

यसबारे अन्तिम निर्णय लिने जिम्मा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै दिइएकाे पनि उनले बताए ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अन्तिम निर्णय गर्ने अधिकार पनि दिएको छ,’ उनले भने, ‘पार्टीको स्वार्थ अनुसार संविधान र कानुनको पालना गर्दै राष्ट्रिय सहमति खोज्ने निर्णय गरियो ।’

बैठक अगाडि प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो ।

विभिन्न दलका नेतासँग प्रचण्डकाे भेटबारे सञ्चारकर्मीले साेधेकाे प्रश्नमा महराले भने– ‘भेट त जाेसँग पनि हुन्छ । सबैसँग हुन्छ । तर, सहमतिका लागि हाम्राे स्वार्थ मिल्नु पर्छ । त्याे भनेकाे राष्ट्रियता, गणतन्त्रका विषयमा सहमति हुनुपर्छ ।’

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =