पत्रकार किशोर नेपालका सबै सामाजिक सञ्जाल र मोबाइल नम्बर बन्द, महासंघको ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएका सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको नम्बरसमेत बन्द गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बुधबार विज्ञप्ति निकालेर उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघको विज्ञप्तिमा भनिएको छ– ‘पूर्वसभापति नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले उहाँले चलाउने फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको छ । यसबारे प्रहरीको साइबर व्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद् पक्ष हो ।’

विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले यस्तो हर्कत गरिएको भन्दै महासंघले यो अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको छ ।

‘महासंघ घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =