ओनसरीको घोषणा : त्रिभुवन विमानस्थलमुनि सुरुङमार्ग, कोटेश्वरमा अण्डरपास

काठमाडौँ । सत्तारुढ गठबन्धनबाट काठमाडौं २ मा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले घोषणापत्र सार्वजनिक गरेकी छन् । निर्वाचित भएपछि ओनसरी घर्तीले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमुनि सुरुङमार्ग बनाउने घर्तीले बताएकी छन् । उनको घोषणापत्रमा जडीबुटीदेखि तीनकुनेसम्म अन्डर पास बनाउने उल्लेख छ । कोटेश्वर क्षेत्रमा अत्यन्तै ट्राफिक जाम हुने गर्छ ।
जडीबुटीदेखि कोटश्वरसम्म अन्डर पास बनाएर कोटेश्वरको जाम घटाउने घर्तीको भनाइ छ । पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता घर्तीले गरेकी छन् । मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तिनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी अन्तर्राष्ट्रियकरण पार्क निर्माण गर्ने उनको योजना छ । सडक, शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि उनले थुप्रै योजनाहरु अघि सारेकी छन् । उनको घोषणापत्रमा लेखिएको छ, ‘साँखु –फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने ।
साँखु–बज्रयोगिनी–घुमारचोक– डाँडाकटेरी–चौकी भन्ज्याङ–धारापानी–पटाप–कुण्डेश्वर–सिन्धुपाल्चोक सडक निर्माणलाई पूर्णता दिने । इन्द्रायणीसाना गाउँ–भुल्बु–घुमारचोक–मणिचूड–चिसापानी सडक स्तरोन्नति गर्न पहल गर्ने । यस क्षेत्रका बाटो नपुगेको ठाउँमा नयाँ बाटो र पुगेको ठाउँमा मर्मत सम्भार तथा पिच गर्ने छौँ ।’
मनोहरा खोलाको कटान तथा डुबान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने तथा जग्गा एकीकरण गर्न पहल गर्ने पनि ओनसरीले आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख गरेकी छन्। प्रत्येक घरमा शुद्ध खानेपानी, खेलकुद पार्क, खेलकुद एकेडेमी तथा वैकल्पिक राष्ट्रिय रगंशाला निर्माण गर्ने योजना पनि घर्तीले घोषणा गरेकी छन् ।









