मेलम्चीको पानी काठमाडौं ल्याउन काम सुरु

काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी सुरु गरिएको बताए। यस वर्षको मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो। वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएका थिए।

कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘‘यस वर्षको बाढीले पुर्याएको क्षतिबारे मूल्याङ्कन गर्न आयोजनाका इन्जिनियर, भूगर्भविद तथा निर्माण व्यवसायीसहितको टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनका आधारमा अहिले सडक तथा पुल निर्माणको काम सुरु भइसकेको छ।” उनका अनुसार सडक र पुल तत्कालका लागि अस्थायी रूपमा नै निर्माण गर्नुपर्ने भएकाले छिट्टै नै काम सम्पन्न हुनेछ। यस वर्षको बाढीपहिरोले गत वर्ष जस्तो ठूल्ठूला ढुङ्गा तथा गेग्रान नल्याएकाले यसपालि पानी ल्याउन कठिन नहुने उहाँको भनाइ छ।

उनका अनुसार आयोजना स्थलसम्म पुग्न करिब दुई सडक र पाँचवटा पुलको निर्माण गर्नुपर्ने हुन्छ। यस वर्षको वर्षायाममा आएको बाढीपहिरोले ती सडक र पुलमा क्षति पुर्‍याएको थियो। बर्खा लाग्नुअघि नै आयोजनाको मुहान तथा पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएकाले मुहान तथा सुरुङमा क्षति नपुगेको उनले बताए। पहुँच सडक र पुलबाहेक अरू संरचना निर्माण गर्नु नपर्ने अवस्था देखिएको उनले बताए। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =