निर्वाचन : २०७९

आम निर्वाचन : कर्णालीमा यस्तो छ चुनावी प्रतिस्पर्धा

सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गराएसँगै चुनावी माहोल थप तातेको छ । कर्णालीमा ०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ कुनै पनि सिट जित्न नसकेको नेपाली कांग्रेस अहिले गठबन्धनको सहारामा ‘कम ब्याक’ गर्ने दाउमा छ ।

१० वटा जिल्ला रहेको कर्णालीमा सुर्खेत र दैलेखमा प्रतिनिधिसभातर्फ २/२ निर्वाचन क्षेत्र छन् भने बाँकी ८ जिल्लामा १/१ निर्वाचन क्षेत्र छन् । एमालेले १० वटै जिल्लामा आफ्ना उम्मेदवार उठाउँदा गठबन्धनबाट भने कांग्रेसले सुर्खेतका दुवै क्षेत्र, दैलेख-२ र मुगुमा उम्मेदवार उठाएको छ । माओवादीले रुकुम पश्चिम, जाजरकोट, कालिकोट, जुम्ला र हुम्लामा सिट प्राप्त गरेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट सल्यान, दैलेख-२ र डोल्पा प्राप्त गरेको छ ।

यस्तो छ चुनावी प्रतिस्पर्धा

सुर्खेत-१ मा खड्का र शाही फेरि आमनेसामने

सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि कांगे्रसबाट केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट निवर्तमान प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही उम्मेदवार बनेका छन् । ०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता शाहीले खड्कालाई ३ हजार ३८२ मतान्तरले पराजित गरेका थिए । शाही ३६ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए ।

आसन्न निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा खड्का–शाहीबीचको चुनावी भिडन्त रोचक हुने देखिन्छ । पूर्व गृहमन्त्री खड्का राष्ट्रिय राजनीतिमा बलियो हुँदै गएका छन् । यदि खड्काले गठबन्धनभित्रका तीन वटै दलको पूर्ण सहयोग प्राप्त गरेको खण्डमा उनी बलियो दाबेदार हुन् । यद्यपि खड्का विरुद्ध माओवादीका मानसिंह ठकुरीले उम्मेदवारी दिएका छन् ।

सुर्खेत-२ मा तीन दशकपछी थानी र बिसी आमनेसामने

०७४ मा वाम गठबन्धनका उम्मेदवारबाट पराजित कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी पुनः प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । ०४८ सालयता एमाले नेता यामलाल कँडेलसँग प्रतिस्पर्धा गर्दै आएका उनी संघीयतापछिका निर्वाचनमा भने नयाँ–नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै आएका छन् । ०७४ मा एमालेका नवराज रावतसँग पराजित भएका उनी आसन्न निर्वाचनमा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बिसीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

०७४ मा थानी झण्डै ९ हजार मतान्तरले पराजित भएका थिए । तत्कालीन वाम गठबन्धनका रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए । यो पटक भने थानी बलियो प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा छन् । उनलाई गठबन्धनको साथ छ भने एमालेको सांगठनिक अवस्था पछिल्लो समय कमजोर देखिन्छ । यद्यपि बिसी पनि एमालेभित्र बलियो प्रभाव राख्ने नेतामा पर्दछन् । प्रदेश राजधानीसमेत भएको क्षेत्र भएकाले दुई नेताबीचको चुनावी भिडन्त पनि रोचक बन्ने देखिन्छ ।

दैलेख-१ मा पूर्व सहकर्मीबीच भिडन्त

यो क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारका रुपमा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा र एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माबीच कडा प्रतिस्र्धा हुने भएको छ । थापाले १४ वर्ष जिल्लामा एमालेको नेतृत्व गरेका थिए । दैलेखमा एमालेको सांगठिक अवस्थालाई विस्तार गर्न ठुलो भूमिका खेलेका थापा ०७४ मा १२ हजार ५६७ मत सहित प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए । उनले कांग्रेसका जगतजंग थापालाई २ हजार बढी मतान्तरले पराजित गरेका थिए ।

एमाले विभाजनसँगै नेकपा एकीकृत समाजवादीमा लागेका उनी आफ्नै पूर्व सहकर्मी शर्मासँग चुनावै मैदानमा छन् । शर्मा ०७४ मा प्रतिनिधिसभामा २३ हजार ७७३ मतसहित विजयी भएका थिए । यी दुई पूर्व सहकर्मीबीचको चुनावी भिडन्त रोचक हुने देखिन्छ ।

जनाधारका हिसाबले यो क्षेत्रमा नेकपा एकीकृत समाजवादी कमजोर भए पनि थापा विगतदेखिनै चुनाव लड्दै आएका कारण उनको व्यक्तिगत प्रभाव राम्रो छ ।

यही क्षेत्रबाट राप्रपा महामन्त्री कुन्ती शाहीले पनि उम्मेदवारी दर्ता गराएकी छन् । शाही पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी हुन् ।

दैलेख-२ मा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा

प्रतिनिधिसभातर्फ दैलेख-२ मा एमालेबाट संविधानसभा सदस्य लक्ष्मी पोखरेल र सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका दिक्पाल शाही उम्मेदवार बनेका छन् । शाही ०७४ मा प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर शाहीसँग झण्डै ३ हजार मतान्तरले पराजित भएका थिए ।

एमाले नेता पोखरेल दैलेखको राजनीतिमा प्रभावशाली तथा शालिन नेता मानिन्छन् । यद्यपि उनी सभासद हुँदा दैलेखको विकासमा खासै उदाहरणीय काम गर्न नसकेको आरोप लाग्दै आएको छ । यहाँ सत्तारुढ गठबन्धनका अन्य घटकको प्रभाव खासै देखिँदैन ।

सल्यानमा प्रकाश ज्वाला र राजेन्द्रवीर रायबीच प्रतिस्पर्धा

सल्यानमा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वालासँग प्रतिस्पर्धा गर्न एमालेले नयाँ अनुहारका रुपमा राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएका छन् । उनी केही अघिसम्म राप्रपामा थिए ।

एमाले विभाजन हुनुभन्दा पहिला ज्वालानै शक्तिशाली नेताको रुपमा स्थापित थिए । यद्यपि अहिले ज्वाला नेकपा एकीकृत समाजवादीतिर लाग्दा एमालेको सांगठनिक अवस्था कमजोर छ । ज्वालापछि प्रभावशाली नेताको रुपमा चिनिने गुलाबजंग शाह प्रदेशसभा चुनाव लड्ने भएपछि ज्वालालाई सहज भएको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको मतपरिणाम अनुसार माओवादीको २६ हजार ७१३, कांग्रेसको ३३ हजार ६१६ र समाजवादीको जम्मा ९ हजार ४७६ मत छ । यदि कांग्रेस, माओवादीले पूर्ण रुपमा ज्वालालाई सहयोग गरेको खण्डमा उनलाई निकै सहज हुने देखिन्छ । गठबन्धनको तुलनामा एमालेको मत करिब ४३ हजार हजार कम छ ।

प्रदेश सरकारको अर्थमन्त्री भइसकेका ज्वाला ०५१ सालमै प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए । ०५६ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एमालेबाट निर्वाचित भएका उनी सल्यानका प्रभावशाली नेता हुन् ।

रुकुम पश्चिममा शर्मा-देवकोटा मैदानमा

माओवादीको आधार इलाका रुकुम पश्चिममा अन्य दलको खासै प्रभाव छैन । यो क्षेत्रबाट माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा विजयी हुँदै आएका छन् । यस पटक सत्तारुढ गठबन्धनका तर्फबाट उनी उम्मेदवार छन् ।

०७४ मा ३४ हजार ४०२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनीसँग यो पटक एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले प्रतिस्पर्धा गर्ने भएका छन् । जनार्दन शर्माले ०७४ मा कांग्रेस प्रतिस्पधीलाई झण्डै १७ हजार मतान्तरले पराजित गरेका थिए ।

यो जिल्लामा माओवादी एक्लै र अन्य सबै दल एकातिर हुँदा पनि माओवादीकै प्रभाव बढी देखिन्छ । यहाँ प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा माओवादीले आफ्ना उम्मेदवार उठाएको छ ।

जाजरकोटमा शक्ति बस्नेतलाई निरज आचार्यको चुनौती

जाजरकोटमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र एमालेका निरज आचार्यले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । एमालेका केन्द्रीय सदस्यसमेत रहेका आचार्य र माओवादी केन्द्रका नेता बस्नेतको गृह पालिका भेरी हो ।

लामो समयदेखि चुनाव जित्दै आएका बस्नेतको प्रभाव जिल्लामा राम्रै छ । आचार्य पनि युवामाझ लोकप्रिय नेता मानिन्छन् ।

कालिकोटमा महेन्द्र शाहीको प्रतिस्पर्धी नगेन्द्र शाही

कालिकोटबाट प्रतिनिधिसभातर्फ माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही ‘प्रज्वल’ को प्रतिस्पर्धीको रुपमा एमाले जिल्ला इञ्चार्ज नगेन्द्र शाही ‘नेशनल’ मैदानमा छन् । कर्णालीका पूर्व मुख्यमन्त्री शाही यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका हुन् ।

गत वैशाख ३० को स्थानीय चुनावमा एमालेले कुनै पनि पालिका जित्न नसकेको कालिकोटमा माओवादीलाई नेकपा एकीकृत समाजवादी र कांग्रेसको साथले प्रतिनिधिसभा निर्वाचनमा थप सहज बनाएको छ । ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका शाहीले ०७४ मा मुख्यमन्त्री बन्ने भएपछि प्रदेशमा उम्मेदवारी दिएका थिए ।

माओवादीका पूर्व लडाकु कमान्डरसमेत रहेका उनले कालिकोटमा युद्धकालमा माओवादीको संगठन विस्तारमा ठुलो योगदान पु¥याएकाले पनि जिल्लामा उनी निकै प्रभावशाली मानिन्छन् ।

हुम्लामा दुई पूर्वमन्त्रीबीच टक्कर

हुम्लामा गठबन्धनकोतर्फबाट प्रतिनिधिसभा माओवादीको भागमा परेको छ । त्यहाँ दलभन्दा पनि व्यक्ति बलियो हुने भएकाले चुनावी अंकगणितलाई आधार मान्नु उचित हुँदैन । प्रतिनिधिसभामा एमालेबाट कर्णालीका पूर्व मन्त्री दल रावल र माओवादीबाट पूर्व मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) उम्मेदवार छन् । लामा कर्णाली सरकारमा ६ महिना बिना विभागीय मन्त्री थिए । रावल भने पूर्व सामाजिक विकास मन्त्री हुन् । लामा–रावलबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

तथापि माओवादीका केन्द्रीय सदस्य छक्कबहादुर लामा अहिले एमालेमा प्रवेश गरेर प्रदेशसभाको उम्मेदवार बनेका छन् । लामा पनि हुम्लामा बलिया मानिन्छन् । उनले ०७४मा स्वतन्त्रबाट चुनाव जितेका थिए । कार्चेन र छक्क नातेदार पनि हुन् ।

मुगुमा शाही-कार्कीबीच प्रतिस्पर्धा

मुगुमा गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही र एमालेबाट राजबहादुर कार्की (राजु) बीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस नेता शाही ०७० को संविधानसभा निर्वाचनमा एमालेका मोहन बानियाँसँग पराजित भएका थिए । कार्की पहिलो पटक चुनाव लड्दैछन् । यद्यपि कार्कीको विगत भने अस्थिर छ । उनी सुरुमा कांग्रेस, त्यसपछि राजावादी, माओवादी हुँदै दुई वर्षअघि एमालेमा प्रवेश गरेका हुन् । गठबन्धनभित्र कुनै धोका नभएको खण्डमा शाही तुलनात्मक रुपमा बलिया देखिन्छन् ।

डोल्पामा धनबहादुर बुढासँग एमालेका गणेश शाही प्रतिस्पर्धी

डोल्पामा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनीसँग एमालेका गणेशबहादुर शाहीले प्रतिस्पर्धा गर्ने भएका छन् । डोल्पामा नेकपा एकीकृत समाजवादीको खासै प्रभाव नभए पनि बुढाको व्यक्तिगत प्रभाव निकै राम्रो छ । शाही एमाले विभाजनपछि समाजवादीमा लागे पनि पछि एमालेमै फर्किएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत भइसकेका बुढा ०७४ मा ११ हजार ७६१ मत ल्याएर एमालेबाट निर्वाचित भएका थिए ।

जुम्लामा गोमा कुँवर र रतननाथ योगीबीच प्रतिस्पर्धा

जुम्लामा गजेन्द्र महतले मैदान खाली गरिदिएपछि माओवादीले गोमा गौतम (कुँवर)लाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । एमालेबाट रतननाथ योगी उम्मेदवार बनेका छन् । उनी एमालेका जिल्ला इञ्चार्ज हुन् । योगी पनि जुम्लामा राम्रै छवि भएका नेतामा पर्दछन् । यद्यपि जुम्ला राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पनि उम्मेदवार छन् । उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *