प्रमुख दलले बुझाए समानुपातिकतर्फकाे बन्द सूची, १० देखि १६ गतेसम्म सच्याउन सकिने

काठमाडौँ । प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलका प्रतिनिधिहरू आयोग पुगेर समानुपातिक तर्फको बन्द सूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्द सूची बुझाउन आइतबार र सोमबारको दिन तोकेको थियो ।

बन्द सूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने नहुने आयोगले जनाएको छ । बन्द सूची बुझाउँदै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अब माहौल निर्वाचन मय भएको बताए । उनले कांग्रेस नयाँ दृष्टिका साथ जनतामा जाने बताए ।

त्यस्तै माओवादीका नेता वर्षमान पुनले सत्ता गठबन्धनलाई कायम राखी निर्वाचनमा जाने प्रतिबद्धता जनाए । उनले नेपाल समाजवादी पार्टीलाई पनि माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने र समानुपातिक सूचीमा पनि सँगै रहेको जानकारी दिए । उनले सूचीमा यसअघि समानुपातिकमा परेका र स्थानीय तहमा निर्वाचनमा उठेकालाई पनि सूचीमा नरहेको बताए ।

त्यस्तै एमालेका नेता नीरज आचार्यले यसअघि समानुपातिकमा रहेका पुराना कोहीलाई पनि नदोहराएको बताए ।

आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्द सूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै झण्डै २० हजार हुने आयोगको अनुमान छ ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिने आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार असोज ४ देखि ९ गतेसम्म दलले बुझाएको बन्द सूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ । आयोगबाट जानकारी पाएपछि १० देखि १६ गतेसम्म बन्द सूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =