टुकुचा फर्काउने अभियानबाट पछि हट्दैनौँ : उपमेयर डंगोल

काठमाडाैँ । काठमाडौं महानगरपालिकाले टुकुचा मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । कमलादीस्थित लक्ष्मी बैंकले खोलामाथि बनाएका पर्खालसहितका संरचना शनिबार भत्काइएको छ । महानगरको डोजरले करिब १२ फिट गहिराइसम्म खनेपछि टुकुचा देखिएको थियो ।

महानगरले बिहीबार जयनेपाल हलपरिसरमा १६ फिट गहिराइमा टुकुचा फेला पारेको थियो । नारायणहिटीबाहिर जयनेपाल हलदेखि कमलादीसम्म टुकुचा गायब छ । करिब पाँच सय मिटर लम्बाइमा लुकेको टुकुचाको भाग शुक्रबार महानगरको सहरी विकास विभाग र इन्जिनियरको टोलीले सर्भे गरेको थियो । टोलीले गरेको सर्भेका आधारमा शनिबार महानगरले लक्ष्मी बैंक भवनपरिसरमा टुकुचाको भाग पत्ता लगाउन जमिन खोतलेको हो ।

खोला कहाँनिरबाट बगेको छ भनेर यकिन गर्न बैंकको भवनमा क्षति नहुने गरी बैंक बाहिरपट्टि खोतलिएको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनका अनुसार लक्ष्मी बैंकसँगै जोडिएका अन्य घरहरूले पनि टुकुचाको भाग मिचेका छन् । अब बैंक र आसपासका भवन हटाउन महानगर लागिपर्नेछ ।

महानगरका अनुसार जयनेपाल हलदेखि लक्ष्मी बैंकसम्म पक्की र कच्ची साना–ठूला गरी करिब ६५ वटा संरचनाले टुकुचा खोसेका छन् । त्यस भागमा माथिपट्टि भवन र तलपट्टि साँघुरिएर टुकुचा बगेको महानगरका नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ । ‘शनिबार खोतल्दा बैंकपरिसरमा खोला भेटिएको छ, खोलाको पूरा भाग खाली गर्न बैंक तथा आसपासका संरचना हटाउनुपर्ने हुन्छ,’ उनले भने, ‘पहिलो चरणमा जयनेपाल हलदेखि कमलादीसम्मकै भाग खाली गराउन लागिपर्छौँ ।’ उनका अनुसार आइतबार पनि जय नेपाल हलदेखि कमलादीको बीचमा लुकेको टुकुचा बाँकी भाग पत्ता लगाउन उत्खनन गरिनेछ ।

दुई वर्षअघि सहरी विकास मन्त्रालयको निर्देशनमा सुविधासम्पन्न बागमती एकीकृत विकास समितिलाई टुकुचा मिचेर बनेका भवन, घर यकिन गर्न र सम्भाव्यता अध्ययन गर्न निर्देशन दिइएको थियो । सोहीअनुसार ०७७ मा समितिले कन्सल्टेन्सी हायर गरेर तीन महिनामा डिपिआर तयार पारेको थियो । उक्त डिपिआर दुई वर्ष समितिले गुपचुप राखे पनि आइतबार काठमाडौं महानगरका मेयर बालेन्द्र साहले माग गरेपछि समितिले उपलब्ध गराएको थियो । त्यसका आधारमा महानगरले टुकुचा उत्खनन गरेको हो । डिपिआर प्रतिवेदनमा पाँच सय ८१ वटा कित्ताले टुकुचा मिचेका छन् । मिचिएको भाग फिर्ता ल्याउन लाग्ने समय, खर्च, मिचिएका कित्ता संख्या र चुनौतीसहितको प्रतिवेदन हाल काठमाडौं महानगरसँग छ ।

नक्सापास हेरेर अवैध संरचना भत्काइने
अवैध संरचनाका कारण लोप हुने खतरामा रहेको टुकुचा खोलामा बनेका संरचना हटाउन महानगरले नक्सापास विवरण हेर्नेछ । सोही आधारमा महानगरको अनुमतिविना खोलाको जग्गामा घर बनाएकालाई महानगरले हटाउने तयारी गरेको हो । त्यस्तै, तत्कालीन समयमा केही कर्मचारीले मिलेमतो गरी खोलाको जग्गा व्यक्तिको नाममा नक्सापास गराइदिएको भेटिएमा महानगरले कानुनबमोजिम कारबाही गर्ने भएको छ । मुआब्जा दिएर वा तत्कालीन कर्मचारीलाई कारबाही गरेर खोलाको नक्सा खोलाकै नाममा फर्काइनेछ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल टुकुचाको जग्गा अतिक्रमण गरेका घर–टहराको नक्सा विवरण खोजिँदै छ ।

पछिल्लो समय महानगरले करिब दुई सय ५० वटा अवैध संरचना भत्काइसकेको छ । महानगरभित्रका अवैध संरचना हटाउने कार्य अभियानकै रूपमा रहेको छ । कामपाभित्र झन्डै १५ हजार अवैध संरचना हुन सक्ने अनुमान गरिएको महानगरका नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ ।

टुकुचा फर्काउने अभियानबाट पछि हट्दैनौँ : उपमेयर डंगोल
खोलालाई खोलाकै रूपमा फर्काउन लागिपरेका छौँ । महानगरपालिकालाई अन्य सरकारी निकायले पनि साथ दिएका छन् । स्थानीयको साथ र सहयोगले नै टुकुचा खाली गर्ने हो । महानगर टुकुचा फर्काउने अभियानबाट पछि हट्नेछैन ।

अहिले करिब पाँच किमि लामो टकुचा (इच्छुमती)को जमिनमुनि छोपिएको भाग दरबारदेखि हात्तीसारसम्म करिब पाँच सय मिटर अन्डरग्राउन्ड फेला पारेका छौँ । यो संरचना राणाकालीन समयमा वीरशमशेरका पालामा इन्जिनियर जोगवीर स्थापितको डिजाइनमा निर्माण प्रारम्भ गरिएको रहेछ ।

यो संरचनालाई प्राविधिक दृष्टिकोणले मात्र नभई पुरातात्विक महत्वका रूपमा पनि लिनुपर्छ । विज्ञहरूसँग राय-सुझाव लिई यसलाई विभिन्न दृष्टिकोणले छलफल चलाउँछौँ । राणाकालीन समयमा बनेको टुकुचा संरचनामाथि विभिन्न पूर्वाधार निर्माण हुँदै आएकाले यसको वैध-अवैध भन्ने सन्दर्भमा कानुनी बहस जरुरी छ ।

टुकुचा र अन्य सडक तथा फुटपाथमा बनेका अवैध संरचना भत्काउन लागिपरेका छौँ । व्यवस्थित नभएसम्म यो अभियान रहिरहन्छ । तर, यसमा सबैको साथ पनि चाहिन्छ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =