प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपे, साधारण सदस्यबाट निष्कासन गरे : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुराएको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक हिसाबले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताएका हुन् ।
मुलुकलाई शान्ति र स्थिरता तथा विकासको बाटोतर्फ अघि बढाउन अबको निर्वाचनमा एमालेले हार्न हुने उनले बताए । ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अव यसलाई रोक्नुपर्ने धारणा राखे । एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाई छ ।
अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरू मध्ये कसैले पनि एक्लाएक्लै चुनाव लड्ने आँट गर्न नसकेको तर्क गरे । उनले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफूलाई नै साधारण सदस्यबाट निष्कासन गरेको बताए । कम्युनिस्ट आन्दोलनलाई प्रचण्डले बेइमानी र धोका दिएको उनको भनाई छ ।
कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका नेता यमबहादुर परियार लगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए ।








