टिकट माग्न मन्त्रीको काइदा : फेसबुकमा ‘फ्यान क्लब’ खोलेर प्रचारप्रसार

पोखरा । आसन्न निर्वाचनका लागि अहिले दलहरूमा उम्मेदवारको आन्तरिक सिफारिस चलिरहेको छ । गण्डकीमा कांग्रेसले मुख्यमन्त्री पाउने आसमा धेरै नेताहरू प्रतिनिधिसभा छोडेर प्रदेशमा भाग खोजिरहेका छन् ।

त्यसो त, हालकै मन्त्रीहरू पनि मुख्यमन्त्रीको रेसमा छन् । भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का र कानुन मन्त्री विन्दुकुमार थापा भावी मुख्यमन्त्रीको प्रतिस्पर्धामा छन् । एउटै निर्वाचन क्षेत्रका दुवैलाई टिकट पाउनै सकस देखिएको छ ।

खड्का तत्कालीन अखण्ड पार्टीलाई कांग्रेसमा विलय गराएर प्रदेश सांसद बनेका हुन् भने थापा कास्की २ ९ख० बाट चुनाव जितेर आएका हुन् । संस्थापन गुटका दुवैले कास्की २ ९ख० बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने बाटो खोजिरहेका छन् ।

कांग्रेसको पछिल्लो परिपत्र अनुसार खड्का अव समानुपातिक सांसद बन्न पाउँदैनन् । त्यसले पनि उनलाई प्रत्यक्ष चुनाव लड्नैपर्ने बाध्यता आइपरेको छ भने थापा पहिले पनि प्रत्यक्ष चुनाव जितेका कारण दाबी स्वाभाविक मानिन्छ ।

अहिले दुई नेताबिच सम्बन्ध समेत चिसिएको छ । सरकारले विनियोजन गरेको बजेटमा पनि दुवै मन्त्रीले जस लिने होड छ । त्यसो त, मन्त्री खड्काले एउटै वडामा ३० करोडसम्म बजेट हालेको समाचार छ्यापछ्याप्ती छ ।

सांसदका लागि चुनाव लड्न पार्टीबाट टिकट लिनका लागि दुवैले लागिपुगेसम्म मेहनत गरेका छन् । खड्काले अहिले आफ्ना समर्थकहरूलाई भेला पारेर टिकटका लागि दबाब दिन अह्राएका छन् ।

‘मैले गरेको विकासको कामलाई लिएर साथीहरूले गुन तिर्न खोज्नुभएको हो । यो कुनै गुटको भेला वा कसैका विरुद्ध गरिएको प्रदर्शन होइन,’ खड्काले भने, ‘यति धेरै विकास गर्ने मान्छेलाई पनि समर्थन गरिएन भने उसको राजनीतिक करियर सकिन्छ भनेर साथीहरूले मेरा पक्षमा आवाज उठाउनुभएको हो । यसमा आपत्ति जनाउनुपर्ने विषय छैन ।’ पार्टीभित्र पद लिन र नेताहरू रिझाउन खप्पिस खड्काले टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिनेसम्मको धम्की दिएको एक नेताले बताए ।

‘जसरी पनि टिकट आफैले पाउनुपर्छ भन्नुभएको छ । यदि अरूले टिकट पाए स्वतन्त्र उठ्ने घोषणा गर्नुभएको छ,’ ती नेताले भने, ‘टिकट पाउँदिन कि भनेर आफू निकटस्थहरूलाई भेला पारेर दबाब दिन थाल्नुभएको छ ।’ खड्काको नाममा अहिले फेसबुक फ्यान पेज नै बनेको छ । तर खड्काले आफूले विद्रोह गर्ने कुरा कतै नबोलेको बताएका छन् ।

‘कांग्रेसमा लागिसकेपछि एउटा सच्चा कार्यकर्ताको हैसियतमा म छु । मैले विद्रोह गर्ने कुरा सम्भव छैन,’ उनले भने, ‘यो कतैबाट नियोजित रूपमा चलाइएको होहल्ला हो । सत्यता छैन ।’

यद्यपि उनी सहभागी कार्यक्रमबारे कास्की कांग्रेसले पनि पार्टीको हित विपरीत भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =