पूर्ण छात्रवृत्तिमा पढ्न पाएपछि विद्यार्थीमा खुसीयाली

चितवन । भरतपुर महानगरले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । पूर्ण छात्रवृत्तिमा पढ्न पाएपछि विद्यार्थीमा खुसीयाली छाएको छ ।
भरतपुर महानगरपालिकाले २ सय ७४ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति वितरण गरेको हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिको लागि छनौट गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
उनले पूर्ण छात्रवृत्तिमा पढ्न पाउँदा विद्यार्थीहरूमा खुसी छाएको बताइन् । दाहालले मनखुशी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति नियन्त्रण गर्न सफल भएको दाबी गरिन् । विद्यार्थीको क्षमता र योग्यताका आधारमा पारदर्शी रूपमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको हो ।
छनौट भएका विद्यार्थीलाई सिफारिस पत्र वितरण गरिएको छ । मेयर दाहालले गरिबी तथा विपन्नकै कारण शिक्षाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था हटाउन महानगर लागेको बताइन् । अल्पसंख्यक, सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्च शिक्षाका लागि समेत छात्रवृत्ति वितरण गरिएको हो ।
“भरतपुरबाट दक्ष जनशक्ति तयार गर्न शिक्षामा लगानी बढाएका छौँ”, उनले भनिन्, ‘जहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ ।” शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालका अनुसार ३१ वटा संस्थागत विद्यालयबाट समेत छात्रवृत्ति दिइएको छ ।
छात्रवृत्ति पाएकाहरूमध्ये विज्ञानतर्फ १ सय ६३ जना छन् भने १ सय ११ जना अन्य विषय पढ्नेहरू छन् । महानगरले बनाएको छात्रवृत्ति वितरण कार्यविधि अनुसार विद्यार्थी छनौट गरिएको हो ।
जेहेन्दारतर्फ १ सय १५ जना, गरिब तथा विपन्नतर्फ ९९ जना, आदिवासी जनजातितर्फ २७ जना, दलित तर्फ १७ जना, अपाङ्गता भएका ७ जना, जनआन्दोलनका घाइतेका सन्ततितर्फ ५ जना, सहिदका सन्ततितर्फ ३ जनाले छात्रवृत्ति पाएका छन् ।
एसइई सामुदायिक विद्यालयबाट दिएका १ सय ४९ जना र संस्थागत विद्यालयका १ सय २५ जना छनौटमा परेका छन् । अरोमा इंग्लिस सकेण्डरी स्कुलमा ५० जना, अर्किड सकेण्डरीका ३० जना, वाल्मीकि शिक्षा सदनमा २७ जना, सप्तगण्डकी क्याम्पसमा २० जना, बालकुमारी कलेजका ९ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क पढ्न पाउनेछन् ।
महानगर सामाजिक विकास समितिका संयोजक तथा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनैपर्ने कानुनी व्यवस्था रहेको बताए ।
उनका अनुसार कक्षा ११ मा अध्ययनरत कुल विद्यार्थीको ५ प्रतिशत विद्यार्थीलाई महानगरबाट सिफारिस भएका आधारमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ । अन्य ५ प्रतिशतलाई विद्यालय छात्रवृत्ति वितरण समितिको निर्णयअनुसार हुने व्यवस्था छ ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्मार्ट महानगरलाई सघाउन विद्यार्थी छात्रवृत्ति कार्यक्रमले टेवा पुर्याउने बताए । अरोमा ई स्कुलका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले कार्यविधिका आधारमा मेरिट लिस्टका आधारमा विद्यार्थी छनौट गर्दा लक्षित वर्ग लाभान्वित भएको बताए ।








