रेल व्यवस्थित गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधवार बसेको समिति बैठकले ३५ किलोमिटरको उक्त रेल सेवा सञ्चालनका लागि पर्याप्त ध्यान नपुराउँदा अनेक समस्या देखिएको भन्दै रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको हो ।

रेल सेवालाई सुधारका लागि आवश्यक जनशक्ति, मर्मत गर्ने वर्कसप, फ्युल सेन्टर स्थापना लगायतका सम्पूर्ण आवश्यक पूर्वाधार निर्माण गर्न निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै विद्युतीय रेल सञ्चालनलाई प्राथमिकता दिने गरी रेलमार्गमा आवश्यक विद्युतीय संरचनाहरू निर्माणको कार्य तत्काल सुरु गर्न पनि निर्देशन दिइएको उनले बताइन् ।

त्यस्तै बैठकले नेपालको सबैभन्दा पुरानो र राष्ट्रिय महत्त्वको पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका क्रममा पूर्व तयारीका काम सकेर मात्र ठेक्का प्रक्रिया अघि बढाउन र नारायणगढ–बुटवल सडक निर्माणमा देखिएका कमीकमजोरी उक्त सडक खण्डमा नदोहोरिने गरी काम अघि बढाउन निर्देशन दिएको छ भने पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गरिँदा विभिन्न सडक खण्डमा पर्ने वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई ध्यान दिन सरकारलाई निर्देशन दिइएको सभापति खड्काले बताइन् ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले लामो समय रेल सञ्चालन नहुँदा कर्मचारी हटाइएको र अहिले कर्मचारी भर्ना गर्न विधि र प्रक्रिया लामो रहेकाले समस्या देखिएको बताए । उनले समयमा नै गुणस्तरीय काम नगर्नेको ठेक्का रद्द गर्न कुनै समस्या नरहेको स्पष्ट पारे ।

त्यस्तै सांसदहरूले राष्ट्रिय महत्त्वको आयोजनाहरू निर्माणमा अस्वाभाविक ढिलाइ भइरहेको भन्दै गम्भीर बन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − sixteen =