नदी कटानको समस्याबाट भरतपुरलाई मुक्त पार्ने रेणु दाहालको प्रतिबद्धता 

चितवन । भरतपुर महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई नदी कटानको समस्याबाट मुक्त पार्ने प्रतिबद्धता गरेकी छन् ।  दाहालले राप्ती नदी तटबन्धको काम पनि छिट्टै सुरू हुने बताइन् ।

पश्चिम चितवन निर्माण व्यवसायी संघको नवनिर्मित भवन तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले राप्तीको तटबन्धको काम भएसँगै भरतपुरमा हुने नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुने दाबी गरिन् ।

नारायणी तटबन्धको काम ४ वटा प्याकेजमा ठेक्का भई काम सुरु भएकाले अब राप्ती नदी नियन्त्रणको लागि महानगरपालिका अगाडि बढेको मेयर दाहालको भनाइ छ । राप्ती नदी नियन्त्रणको काम भएपछि पश्चिम चितवनका नागरिकको ४० औँ वर्षदेखि समाधान हुन नसकेको समस्या समाधान हुने उनको तर्क थियो ।

‘पश्चिम चितवन भरतपुरको विकास केन्द्र बनेको छ’, उनले भनिन्, ‘विकासको मोडल हेर्न भरतपुर आउने क्रम बढेको छ । विकासको कामलाई चुस्त बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

मेयर दाहालले संघले साना–ठूला निर्माणको काम गरेर गुणस्तरीय सेवा प्रवाह गरेको बताउँदै संघलाई महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताइन् । प्रमुख दाहालले निर्माण व्यवसायीलाई गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्ने परिपाटीको विकास गर्दै अगाडि बढ्न सुझाव दिइन्।

महानगरले विगत ५ वर्षमा व्यवस्थित र ठूला सडक सञ्जाल निर्माणमा चमत्कारिक फड्को मारेको उनको भनाइ थियो । पश्चिम चितवनको कृषि क्षेत्रमा आधुनिकीकरण गर्न विभिन्न अनुदानको कार्यक्रमका साथै सिँचाइका लागि सयौँको संख्यामा स्यालो टियुवेल तथा डिपबोरिङ वितरण गरिएको जानकारी दिए।

प्रमुख दाहालले सिँचाइको प्रयोग गरी सुख्खा जमिनमा १२ महिना खेती गर्न सक्ने बनाइएकाले अधिकतम उत्पादन वृद्धि गर्न कृषकहरूलाई आग्रह गरिन् । कार्यक्रममा वडा न २५ का अध्यक्ष छविलाल सापकोटाले व्यावसायिक संघले पश्चिम चितवन क्षेत्रमा उत्कृष्ट काम गरी यस क्षेत्रका उपभोक्ताहरूको मन जित्न सफल भएको बताए।

संघलाई वडा कार्यालयको तर्फबाट स्वरोजगार व्यवसायीहरूको क्षमता विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा भवन निर्माणमा  सहयोग पु-याउने दाताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष धनिराम महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =