डलर साटिदिने भन्दै लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूमा डलर साटिदिने भन्दै प्रलोभन देखाइ लुटपाट गर्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ३ थलाडाँडा घर भई हाल काठमाडौँ बाैद्धस्थित आरुवारि बस्ने वर्ष ३२ का समीर भन्ने सञ्जय तामाङ तथा सोही ठाउँ घर भई हाल ललितपुर धापाहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
उनीहरूले बौद्ध, कपन, टोखा, साँखुलगायत उपत्यकाका विभिन्न ठाउँहरूमा सस्तोमा डलर साटिदिने भन्दै प्रलोभन देखाइ ठगी गरेको प्रहरीले जनाएको छ ।
पछिल्लाेपटक उनीहरूले काठमाडौँ टोखास्थित युनिक कलाेनीबाट १५ लाख बराबरको डलर साटिदिने भन्दै ठगी गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।
उनीहरूले पीडितलाई सस्तोमा डलर साटिदिने भन्दै ५, १० र २० दरका नेपाली नोट केही डलरको बिचमा राखेर ठगी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।








