वर्षमानलाई प्रश्न- माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता कहिले हुन्छ ? (भिडिओसहित)

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकता हुनसक्ने संकेत गरेका छन् । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीबीच विचारकाे समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । केही समयअगाडि हामी एउटै पार्टी नेकपामा पनि थियाैँ । परिस्थितिले हामी अलग भएका छाैँ । हामी वामशक्तिहरू एकठाउँमा आउनुपर्छ, त्यसमा सबैभन्दा निकट राजनीति मिल्ने भनेकाे माओ‌वादी केन्द्र र एकीकृत समाजवादी नै हाे । त्यसैले हामीले एकता स‌ंयाेजन समिति पनि बनाउने, एउटै घाेषणापत्रबाट चुनाव लड्ने भन्ने कुरा छँदैछ । पार्टी एकता हुँदैन भन्ने हाेइन,’ उनले भनेका छन् ।

उनले त्यसपछि थपे, ‘त्यसक्रममा अन्य पार्टीहरू खासगरी बाबुरामजी, वामदेव गाैतमजीलगायतका अन्य साथीहरूसँग पनि कुराकानी भइरहेकाे छ, सकेसम्म एउटै घाेषणापत्रबाट चुनाव लड्नेबारे सल्लाह गरिरहेका छाैँ ।’

उनले गठबन्धन न्यूनतम साझा कार्यक्रम बनाउने बताए । ‘अहिले तात्कालिक तालमेल गर्ने शक्तिहरूसँग न्यूनतम साझा कार्यक्रम बनाउँछाैँ । कांग्रेससँग हामी गठबन्धनमा छाैँ, मतदाताकाे बीचमा जाँदैगर्दा हामी किन सहकार्य गर्दैछाैँ भन्ने विषय लिएर जान्छाैँ । खासगरी राजनीतिक स्थायीत्वकाे विषय, संविधानकाे रक्षाकाे विषय र संविधानले दिशानिर्देश र व्यवस्था गरेका विषयहरूलाई कार्यान्वयन गरेर जाने कुराहरू, परराष्ट्र नीतिमा समान धारणा बनाउने विषय, विकास नीति, सुशासनका नीतिलगायतका विषयमा समान धारणा बनाउछाैँ । जसका लागि आवधिक जनमतका लागि जनतामा जान्छाैँ । हाम्राे साझा प्रतिबद्धता त्यसमा रहन्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =