‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमको पहिलो दिन मन्त्रीले एक घण्टा सुने श्रमिकका गुनासा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन् ।
आज पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा र जिज्ञासाहरू सुन्दै कार्यक्रमको सुरुवात गरेका हुन् ।
आजदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकहरूको गुनासा सुन्ने र तिनका समाधानका लागि पहल गर्ने मन्त्रीको सचिवालयले जनाएको छ ।
पहिलो दिन मन्त्री कुँवरसँग फोनमार्फत प्रत्यक्ष रूपमा स्वदेश तथा विदेशमा रहेका १० श्रमिकहरूले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरू राखेका छन् । जसलाई मन्त्री कुँवरले सम्बोधन गरेका छन् ।
आजको कार्यक्रममा विशेष गरी मलेसियामा जाने कामदारबाट पैसा उठाउने गरेको, विदेशमा काम नपाएर ठगिने गरेका र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाका बारेमा श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राखेका थिए ।
उनीहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री कुँवरले मन्त्रालय श्रमिकको पक्षमा भएको जानकारी गराउँदै ऐन कानुन बलियो बनाएर भए पनि श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा ठगिनबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष रूपमा लागिरहेको बताएका छन् ।
मन्त्रालयमा कल सेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ । अहिले कल सेन्टरमा दैनिक २०० बढी गुनासाहरू आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्री नम्बर ११४१ र १६६००१५०००५, ल्यान्ड लाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइवरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्री कुँवर काठमाडौँ रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरूमा कुरा गर्न सकिने समेत मन्त्रालयले जनाएको छ ।








