अमितले क्रिप्टोको काराेबार गरेकाे भन्ने आरोप प्रहरीकै ल्याबबाट भएन पुष्टि

काठमाडौँ । व्यवसायी अमित श्रेष्ठलाई प्रहरीले क्रिप्टो करेन्सीको आरोपमा पक्राउ गरे पनि पुष्टि नभएको खुलेको छ । नेपाल प्रहरीकै फरेन्सिक ल्याबको रिपोर्टमा बरामद गरिएका उपकरण परीक्षण पछि क्रिप्टोको कारोबार नरहेको प्रमाणित भएको हो ।

प्रहरीले अमितका मोबाइल र ल्यापटप लगेर फरेन्सिक ल्याबमा परीक्षण गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयलाई ल्याबले दिएको रिपोर्टमा क्रिप्टो र बिटक्वीन जस्ता सफ्टवेयर अमितबाट बरामद उपकरणमा नभएको रिपोर्ट दिइएको छ ।

अमितमाथि क्रिप्टो र बिटक्वीन प्रमाणित नभएकै कारण प्रहरीले अमितलाई अन्य कसुरमा मुद्दा चलाएको देखिएको छ । अमितमाथि पछि सरकारी वकिल कार्यालयले अर्कै कसुर लगाएर मुद्दा चलाएको थियो । सोही मुद्दाको पुर्पक्षका लागि उनी हाल थुनामा रहेका छन् ।

ल्याबले दिएको रिपोर्टको सुरुमै भनिएको छ, ‘एप्पल कम्पनीको म्याक बुक प्रो ल्यापटप परीक्षणका क्रममा उक्त ल्यापटपमा क्रिप्टो करेन्सी सम्बन्धी एप्लिकेसन, सफ्टवेयर, वालेट इन्स्टल गरेको नदेखिएको ।’

गत साउन ५ गते ल्याबले अनुसन्धान कार्यालयलाई रिपोर्ट दिएको थियो । ल्यापटपमा अमितले विभिन्न बैंकमार्फत गरेका कारोबारको विवरण मात्रै भेटिएको छ । अमितको एसयुएस कम्पनीको ल्यापटपमा पनि त्यस्ता कारोबार देखिएका छैनन् । त्यहाँ पनि आफ्नै वित्तीय कारोबार सम्बन्धी चेक, बैंक स्टेटमेन्ट, डिपोजिट स्लिप लगायत मात्रै भेटिएको थियो । सोही ल्यापटपमा शेयर कारोबारका विवरण पनि भेटिएको थियो । अमितको सामसङ मोबाइल पनि प्रहरीले परीक्षण गरेको थियो । रिपोर्टको ३ नं बुँदामा भनिएको छ, ‘परीक्षणको क्रममा उक्त मोबाइल फोन सेटमा क्रिप्टो बिटक्वीन सम्बन्धी कुनै पनि जानकारी देखिएन ।’

एप्पलको आइफोनमा पनि यस्तै रिपोर्ट दिइएको छ । त्यहाँ पनि क्रिप्टोसम्बन्धि कुनै कारोबार नदेखिएको रिपोर्टमा उल्लेख छ । उक्त मोबाइलमा पनि अमितका वित्तीय कारोबारका अन्य विवरण मात्रै फेला परेको थियो । प्रहरीले दुई वटा ल्यापटप, दुई वटा मोबाइल, दुई वटा सिमकार्ड परीक्षणको सबै विवरण हार्डडिक्समा राखेर अपराध अनुसन्धान कार्यालयलाई बुझाएको थियो ।
सुरुमा जुन आरोपमा अमितलाई पक्राउ गरिएको थियो उक्त कसुर प्रमाणित नभएपछि उनलाई फसाउन अन्य आरोप लगाइएको अमितका आफन्तको आरोप छ ।

प्रहरीले अमितमाथि हुन्डीको कारोबार गरेको आरोप लगाएको छ । तर त्यसका कुनै पनि प्रमाण भने पेस गर्न सकेको छैन ।

बिना प्रमाण झुटो आरोप लगाएर पुर्पक्षका लागि थुनामा पठाएको भन्दै अमितले उच्च अदालतमा निवेदन दिएका छन् । उच्चमा उनले निवेदन दिँदै आफूलाई धरौटीमा छाड्न माग गरेका छन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले साउन २४ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उच्च अदालत पाटनले अमितको मुद्दामा आगामी बिहीबार पेशी तोकेको छ ।

जिल्ला अदालतले गरेको पुर्पक्षका लागि थुनामा पठाउने आदेश उच्च अदालतले उल्ट्याएर अमितलाई धरौटीमा छाड्न सक्नेछ ।

यस्ताे छ रिपोर्टः

थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै अमित उच्च अदालतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =