चितवनमा असन्तुष्ट कांग्रेस समूहले भन्यो- रुखबाहेक अन्त भोट हाल्दैनौँ

चितवन । सत्तारुढ दलबीच केन्द्रमा भएको चुनावी तालमेलको रापतापका कारण स्थानीय क्षेत्रमा असन्तुष्ट समूहहरू देखिन थालेको छ । चितवनमा नेपाली कांग्रेसका असन्तुष्ट समूह जम्मा भएर भेला नै आयोजना गरेका छन् ।

नेपाली कांग्रेस शुद्धीकरण अभियानको नाम दिइएको भेलामा असन्तुष्ट कांग्रेस समूहका नेताहरूले स्थानीय तहको चुनावमा जस्तो फेरि पनि रुखमा मत हाल्न नपाउने अवस्था आउन नदिने प्रतिबद्धता जनाए । उनीहरूले रुखबाहेक अन्त भोट नहाल्ने बताए ।

भरतपुरस्थित हाकिमचोकको सिएमटी रिसोर्टमा भएको भेलामा नेपाली कांग्रेस चितवनका अग्रज नेता एवम् कार्यकर्ताहरूको उपस्थिति थियो । भेलामा कांग्रेसका पुराना नेताहरूले कांग्रेस बचाउन जोड दिएका थिए । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेपछि असन्तुष्ट भएका नेता तथा कार्यकर्ता नै भेलामा उपस्थित भएका थिए । उनीहरूले कांग्रेसमा निष्ठा र इमानदारिता नभएको भन्दै कांग्रेस बचाउन सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भरतपुर महानगरमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपश्चात् उनलाई जिताउन हिँडेको समूह नै भेलामा सहभागी थिए ।

कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औँ जन्म जयन्तीका अवसर पारेर गरिएको भेलामा कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले फेरि पनि रुखमा मत हाल्न नपाउने अवस्था आउन नदिने बताए । उनले भने, ‘सत्ता गठबन्धन ‘काले काले मिलेर भाले खाने गठबन्धन’ भएको छ, निष्ठावान् कांग्रेस एक ढिक्का भएर लाग्ने बेला आएको छ ।’

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेस वामपन्थीले दिएको लौरो टेकेर हिँड्नुपर्ने अवस्था आएको बताउँदै आफ्नै खुट्टामा कहिले उभिने हो भन्दै प्रश्न गरेका थिए ।

उनले बीपीको निष्ठावान् कांग्रेसको मार्गमा हिँड्ने र दासत्व स्वीकार नगर्ने र चितवन कांग्रेसको गरिमा र साख जोगाउने अभियानमा लाग्नुपर्ने बताए। शम्भु अर्यालको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कृष्णलाल सापकोटा , विशिष्ट अतिथि सासद भीमबहादुर श्रेष्ठ, पुर्व राष्ट्रिय«य सभा सदस्य एवम् मेयरका प्रत्याशी जगन्नाथ पौडेल, नेपाली काग्रेसकी नेतृ महासमिति सदस्य एवम् महिला अधिकारकर्मी मीना खरेल लगायतले निष्ठावान् कांग्रेस एक ढिक्का भएर रुख चिन्हमा नै भोट हाल्ने प्रतिबद्धता गरेका थिए । उनीहरूले विवेकपूर्ण तरिकाले अगाडि बढ्न नसके भोलि कांग्रेस भन्ने पार्टी विलीन हुन सक्ने बताएका थिए । कार्यक्रमको सहजीकरण भुवन भट्टले गरेका थिए ।

यसैबिच चितवनमा असन्तुष्ट कांग्रेसहरु भेला हुन थालेपछि उनीहरूको स्वर सुन्न चितवन कांग्रेसले विवाद समाधानका लागि तीन सदस्यीय समिति गठन गरेको छ । केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे रहेको समिति बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =