मिलेमतोमा भुक्तानी : वन कार्यालय मुगुका ६ जनाविरुद्ध मुद्दा

सुर्खेत । डिभिजन वन कार्यालय, मुगुका तत्कालीन अधिकृतसहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरू ६ जनाले ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ हिनामिना गरेको आरोपमा आयोगले आइतबार मुद्दा दायर गरेको हो ।
तत्कालीन अधिकृत डिभिजनल भरतबहादुर बुढथापा, सब–इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्ला गाउँमा आर्थिक वर्ष २०७६र०७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेतले सम्बन्धित कार्यालयसँग गरेको सम्झौताअनुसार काम नगरी मिलेमतोमा भुक्तानी गरी रकम हिनामिना गरेको गरेको आरोप लागेको छ ।
कार्यालयका प्रमुख बुढथापा, सब–इन्जिनियर गोरसिंह बडूवाल, असिस्टेन्ट सब–इन्जिनियर हिमालकुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धमेन्द्र शाही र कोषाध्यक्ष कुसुमदेवी शाही विरुद्ध मुद्दा दायर गरिएको हो ।








