नागरिकता विधेयकबारे बाँस्काेटा भन्छन्- पेरुमा जापानको नागरिक राष्ट्रपति भएजस्तो नहोस् (भिडिओसहित)

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गाेकुलप्रसाद बाँस्काेटाले अङ्गीकृत नागरिकले निश्चित समयपछि मात्रै नागरिकता पाउनुपर्ने बताएका छन् । शुक्रबार संसद्मा भइरहेकाे नागरिकता विधेयक पहिलाे संशाेधनमाथिकाे छलफलमा भाग लिँदै उनले भनेका छन्, ‘यसका लागि निश्चित समयावधि हुनैपर्छ ।’
उनले समयावधि नहुँदा पेरुमा जापानको नागरिक राष्ट्रपति भएजस्तो हुने भन्दै चिन्ता व्यक्तसमेत गरे । ‘ट्रक चढेर मान्छे आउ, कन्टेनरमा चढेर मान्छे आउ, प्लेनमा आउ भनेर भन्ने देशहरूमा पनि खास अवधि बसाेबास गर्नुपर्छ । डीभी भरेर आउ, संसारभरीका आउ भन्ने देशले पनि अविध राखेका छन् । यी देशहरूमा खास अविधकाे बसाेबासकाे व्यवस्था गरिएकाे छ ।अनि मात्रै पाइन्छ । तर हाम्राेमा याे साह्रै अप्ठ्याराेमा खालकाे भयाे । लचिलाे हुने नाममा कतै पेरुमा जापानकाे नागरिक राष्ट्रपति बनेजस्ताे नहाेस् । फिजीमा महेन्द्रा चाैधरी भएजस्ताेचाहिँ नहाेस्,’ उनले भनेका छन् ।
एमालेले आफ्नाे धारणा नफेरेकाे दाेहाेर्याउँदै भनेका छन्, ‘हामीले ध्यान दिने कुरा याे हाे । हाम्राे खास राज्यकाे भूगाेलभित्र, यहाँकाे संस्कृतिभित्र यहाँका प्रकृतिभित्रै भएकाे मान्छेहरूकाे हकमा कसैले पनि खराब दृष्टिकाेण राखेकाे छैन । तर अन्य कुरामा ध्यान दिनुपर्छ ।’
बिहे गरेर महिलाहरू मात्रै आउँछन् कि महिलासँग पुरुषहरू पनि आउँछन् भन्नेबारे संशाेधन विधेयकले नबाेलेकाे बताएका छन् । ‘यसमा पनि अलमल छ । हिजाे किन लड्कायाैँ आज एकैदिन किन पास गर्नुपर्याे ? याे पनि बुझ्न सकिएन । लाेकसेवामा जाँच दिँदा पनि एक वर्ष त परीक्षण काल पाे हुन्छ त । यहाँ त आजकाे भाेलि । के भएकाे हाे याे ?,’ बाँस्काेटाकाे प्रश्न छ ।








