पत्रकारहरूसँग सभामुखकाे प्रण- संसद्मा तपाईंहरूकाे स्वाभिमानमा चाेट पुर्याउँदैनाैँ (भिडिओसहित)
संसद्मा तीनपुस्ते साेध्नु सर्वथा गलत हाे

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकाेटाले संसद्भित्रका पत्रकारहरूकाे समस्या समाधान गर्ने प्रण गरेका छन् । साेमबार संसदीय पत्रकारहरूसँगकाे अन्तरक्रियालाई सम्बाेधन गर्दै सभामुख सापकाेटाले यस्ताे बताएका हुन् । पत्रकारहरूले सुनाएकाे संसद्का आफ्ना समस्याहरूमाथि सहानुभूति प्रकट गर्दै उनले भनेका छन्, ‘संसद्काे पत्रकारहरूकाे समस्याबारे तपाईंहरूले पहिले पनि बताउनुभएकाे थियाे । याेबीचमा म एक्लै थिएँ, काम गर्न सकिनँ । त्याे म स्वीकार्छु । अब त उपसभामुख पनि हुनुहुन्छ । अब मिलेर काम गर्छाैँ । तपाईंहरूकाे समस्यालाई बुझेका छाैँ हामीले, अब त्यसकाे समस्या समाधान गर्छाैँ ।’
उनले आफूले काम गर्दा कुनै पनि खाले आग्रह-पूर्वाग्रह नराख्ने प्रतिबद्धता जनाउँदै पत्रकारहरूले आफ्नाे समस्या पीडा सुनाउँदा आफू भावुक बनेकाे सुनाए । अन्तरक्रियामा पत्रकारहरूले आफूले मर्यादापालकहरूबाट अपमानित हुनुपर्ने समस्या, संसद् भवन छिर्दा बढी केरकार गर्ने समस्या, त्यसमा पनि तीनपुस्तेसम्म माग्ने गरेकाे समस्या सुनाएका थिए । जवाफमा सभामुख सापकाेटाले भने, ‘मलाई सबैभन्दा बढी तीनपुस्तेकाे कुराले पाेल्याे । तपाईंहरूकाे अपमान मेराे पनि अपमान हाे । मलाई धेरैथाेर थाहा थियाे । तर आजकाे तपाईंहरूसँगकाे अन्तरक्रियाले झन् ज्ञान दिएकाे छ । म दृढतापूर्वक भन्छु कि तपाईंहरूकाे स्वाभिमानमा ठेस परेकाे छ अब त्याे हुँदैन ।’
गल्ती नगर्ने मान्छे दुनियाँमा नै नजन्मेकाे उल्लेख गर्दै उनले थपे— ‘म तपाईंहरूलाई ढुक्कै बन्न अनुराेध गर्छु । हनुमानले त छाती चिरेर देखाउँथे र म त सक्दिनँ । जे हाेस् म तपाईंहरूलाई ढुक्क बन्न अनुराेध भने गर्छु । जे हाेस् तपाईंहरूकाे स्वाभिमानमा चाेट पुर्याउन दिन्नँ ।’








