प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्तिप्रति चीनको आपत्ति

काठमाडाैँ । नेपालस्थित चिनियाँ दूतावासले, नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले अमेरिकी सिनेटमा एमसीसीलाई चीनसँग जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार विज्ञप्ति अभिव्यक्तिप्रति आपत्ति जनाएको हाे ।
अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुधबार भएको सुनुवाइमा आफ्नो धारणा राख्दै थम्प्सनले नेपालले चीनको दुष्प्रचारका बाबजूद एमसीसी अनुमोदन गरेको अभिव्यक्ति दिएका थिए । ‘फेब्रुअरीमा नेपालको संसदले ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चीनको उग्र दुष्प्रचार अभियानका बाबजूद अनुमोदन गर्यो,’ थम्प्सनले भनेका थिए ।
थम्प्सनको उक्त अभिव्यक्तिको खण्डन गर्दै चिनियाँ दूतावासले ध्यानाकर्षण भएको बताएको छ । त्यस्तो विषय पूर्णतया आधारहीन रहेको चीनको भनाइ छ । ‘अमेरिकी पक्षको टिप्पणी पूर्णतया आधारहीन छ। उनीहरुले चीनलाई मात्र बदनाम गरेका छैनन्, नेपाल र नेपाली जनतालाई पनि आक्रोशित बनाएका छन्,’ दूतावासले भनेको छ, ‘यो पूर्णतः गलत सूचना रहेको छ। चीनले यसलाई स्वत खारेजी गर्दछ ।’
चिनियाँ दूतावासले एमसीसीले नेपालमा चर्को बहस गराएको भन्दै यो नेपालको संविधानभन्दा माथि नरहेको र व्याख्यात्मक घोषणासहित पारित गरेको स्मरण गराएको छ । ‘एमसीसी परियोजनाले नेपाल र अमेरिकाबीच चर्को बहस भएको सबैलाई थाहा छ। नेपालको संसदले विशेष व्याख्यात्मक घोषणामार्फत कम्प्याक्ट र अन्य सम्बद्ध सम्झौताहरू भन्दा नेपालको संविधानमाथि हुने स्पष्ट पारेको छ’ चीनले भनेको छ,’ ‘नेपालले संयुक्त राज्य अमेरिकाको रणनीतिक, सुरक्षा र सैन्य लगायतका कुनै पनि गठबन्धनमा सहभागी नहुने व्याख्या गरेको छ ।’








