बालेनले भने – ई-स्पाेर्टसमा विनियाेजित बजेट निश्चित खेल र संस्थाका लागि हाेइन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले कानुन बमोजिम नै बजेट विनियोजन गरिएको बताएका छन् ।

ई-स्पाेर्टका लागि छुट्ट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको बताउँदै उनले विश्वमा खर्बाैंकाे आर्थिक हैसियत राख्ने इ-स्पाेर्टका लागि छुट्ट्याइएकाे बजेटले नेपाली ई-स्पाेर्टका खेल र खेलाडीलाई व्यवस्थित गर्ने बताएका छन् ।

उक्त शीर्षकमा महानगरले छुट्याएको बजेटमाथि सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएपछि मेयर शाहले आफ्नो ध्यानार्षण भएको बताउँदै यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्ट पनि समावेश हुने भएकाले त्यसको तयारीका लागि बजेट विनियोजन गरिएको बताए ।

कानुनले तोकेबमोजिम नै पारदर्शी रूपमा बजेट कार्यान्वयन हुने बताउँदै शाहले गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल नहुने समेत बताए । साथै उनले यो विषयलाई अतिरञ्जित नबनाइदिन समेत आग्रह गरेका छन् ।

शाहकाे भनाइः

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ ।
ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई(स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् ।

यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन ।

साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =