देउवा र माओवादीका कारण मन्त्री फेरबदलमा ढिलाइ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री र माओवादी केन्द्रका कारण मन्त्री फेरबदलमा ढिलाइ भएको बताएका छन ।
आइतबार काठमाडौँमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री र माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीभित्र पनि मन्त्री फेरबदलको माग आइरहेकाले केही दिन पर्खन भनेको र यसका कारण ढिलाइ भएको बताएका हुन् ।
उनले ६ महिनाका लागि मात्र भनेर अहिलेका मन्त्री पठाएको र अव अन्यलाई मन्त्रीपरिषद्मा पढाइने धारणा राखे ।
अध्यक्ष नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का बारेमा गहिरो गरी बुझेर आवश्यक निष्कर्षमा पुग्नुपर्ने बताए । देशभक्तिमा आँच पुग्ने, राष्ट्रिय हितमा कुठाराघात पुग्ने कुनै पनि काम नहुने भन्दै उनले यस विषयमा गठबन्धनमा विस्तृत छलफल हुने उनले बताए ।
नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबिच प्रभावकारी रूपमा तालमेल हुन नसकेको धारणा राखे । गठबन्धन गर्न स्थानीय तहमा बढी पेचिलो भएको भन्दै उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहज हुने जिकिर गरे ।
अध्यक्ष नेपालले पर्यटन मन्त्री प्रेम आलेको अडियो विवादमा विषयमा बोल्दाखेरि विचार पुर्याएर मात्र बोल्नुपर्ने तर्क गरे ।








