ट्रिनिटीका सुरक्षा गार्डलाई खुकुरी हान्ने चार विद्यार्थी पक्राउ

काठमाडौँ । कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ परेका छन् । प्रहरीले मंगलबार सोही कलेजमा अध्ययनरत चार विद्यार्थीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछापको मन्थली नगरपालिका घर भई हाल काठमाडौं डिल्ली बजार बस्ने १८ वर्षीय बिपिन खत्री रहेका छन् । यस्तै, ओखलढुङ्गाका मानेभञ्याङ्ग गाउँपालिका-६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा नगरपालिका-६ ढलमल वस्ने अनमोल भन्ने सञ्जिब भण्डारी रहेका छन् ।

पक्राउ परेकामध्ये बानियाँले सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरू सबै ट्रिनिटी कलेजमा मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत रहेको छन् । मंगलबार दिउँसो कलेजका सुरक्षागार्डमाथि धारिलो हतियार प्रहार गरेको सूचनापछि प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनको उद्धार गरेको थियो ।

बायाँ कानमुनि चोट लागेका उनी मोडेल अस्पतालमा उचारपछि डिस्चार्ज भइसकेका छन् । उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । करिब १० दिन अगाडी कलेज प्राङ्गणमा बास्केटवल खेल्दा भएको विवादको विषयलाई लिएर कलेजमा मंगलबार दुई पक्षबीच झै-झगडा हुन लाग्दा सुरक्षा गार्डले छुट्याउने क्रममा उनीमाथि नै आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *