ललितपुरमा ‘दलित’ भनी भर्ना नलिइएका छात्रलाई महोत्तरीको गुरुकूलले नि:शुल्क पढाउने

काठमाडौँ ।  ‘दलित’ भएकै कारण ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा पढ्न नपाएका ४ छात्रले महोत्तरीको मटिहानीस्थित गुरुकूलले निःशुल्क पढाउने भएको छ ।

दलित भएकै कारण विद्यार्थीले गुरुकूलमा भर्ना नपाएको भन्ने समाचार सार्वजनिक भएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सम्बन्धित ४ जना छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो ।

बर्दियाको बारबर्दिया–६ का दलित परिवारका ४ छात्र अध्ययनका लागि भन्दै ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा भर्ना हुन गएका थिए । १० वर्षीय समीर सुनार, १२ वर्षीय विराज सुनार, ९ वर्षीय भुवेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले विद्यालयमा भर्ना हुनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका थिए । भर्ना लिने भन्दै विद्यार्थीले केश मुण्डन र व्रतबन्ध समेत गरेका थिए । तर, भर्नाका लागि थर सोध्दा दलित भएको पाइएपछि विद्यालयले उनीहरूलाई घर जान भनेको थियो ।

‘बर्दियाका चार छात्रको ललितपुर गुरुकूलमा भर्ना हुन नसकेको सञ्चारमाध्यममा आएको समाचारबाट थाहा पाइयो,’ मटिहानीस्थित गुरुकूल राजकीय संस्कृत माविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भने, ‘हामी ती चारै छात्रको बसोबास, खानपान र पठनपाठनको जिम्मा लिन्छौँ ।’ दलित छात्र र उनीहरूका अभिभावकको पढ्ने/पढाउने रहरको सम्मान गर्दै चारै छात्रको स्वागतका लागि आफ्नो गुरुकूल पर्खिरहेको पौडेलको भनाइ छ ।

आजभन्दा ३०४ वर्ष पहिले स्थापित मुलुककै जेठो गुरुकूल मानिने मटिहानीमा बालगुरु षडानन्दले पनि शिक्षा लिएका थिए । गुरुकूलमा अहिले हिन्दू धर्म परम्पराका दलित मात्र नभएर इस्लाम धर्मावलम्बी छात्र पनि पढ्दैछन् । ‘कोही जन्मले सुद्र वा ब्राह्मण हुँदैनन्, सबै कर्मले उच्च हुन सक्छन्, त्यसैले हाम्रो गुरुकूलमा सबै जात-जाति र समुदायले उत्तिकै सम्मानसाथ प्रवेश पाउँछन्,’ पौडेलले भने ।

ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा सिट सङ्ख्या पूरा भएको भन्दै भर्ना लिन नसक्ने जनाए पनि सो गुरुकूललमा हाल ३३ मात्र छात्र रहेको बताइएको छ । सो गुरुकूलको वेबसाइटमै सिट सङ्ख्या ५० रहेको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *