एकीकृत समाजवादीको निर्वाचन समीक्षाः गठबन्धन भित्रैबाट विश्वासघात भयो (भिडिओसहित)

काठमाडौँ ।आज शनिबार गठबन्धनआबद्ध दल नेकपा (एकीकृत समाजवादी)ले हालै सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा गरेको छ । निर्वाचनको समीक्षा गर्दै एकीकृत समाजवादीले गठबन्धनभित्र आफूहरू इमानदार रहे पनि आफूहरूमाथि भने विश्वासघात भएको टिप्पणी गरेको छ ।

आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको भन्दै नेकपा एकीकृत समाजवादीले यसमाथि पाँचै दलको उपस्थितिमा छलफलमा लैजाने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनको समीक्षाका लागि शनिबार बसेको पार्टीको सचिवालय बैठकबाट गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको निष्कर्ष निकालिएको उपमहासचिव डा. गंगालाल तुलाधरले बताए । देशैभरि संगठन हुँदाहुँदै पनि आफूहरूले गठबन्धनमा विश्वास गरेर थोरै ठाउँमा मात्र उम्मेदवारी दिएको तर त्यसमा पनि गठबन्धन भित्रैबाट विश्वासघात भएको तुलाधरले बताए ।

सबै कमिटीबाट सूचना आइनसकेका कारण सातै प्रदेशमा एक-एकजना गरी सातजना सचिवालय सदस्यहरू खटाइसकिएको उनले जानकारी दिएका छन् । प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा महासचिव डा. बेदुराम भुसाललाई सूचना सङकलनको जिम्मा दिइएको छ भने सातैजना सचिवालय सदस्यहरूले पाँच दिनभित्र सूचना सङ्कलन गरी आगामी बैठकमा पेश गर्ने जनाइएको छ ।

त्यस्तै, झलनाथ खनालले स्थानीय चुनावमा भएको गठबन्धन र त्यसको परिणामबाट आफूहरू ‘बेहद असन्तुष्ट’ रहेको बताएका छन् ।

नेता खनालले पाँच दलीय गठबन्धनमा नेकपा एसमाथि अन्य दलले धोखा दिएको टिप्पणी गर्दैउनले भने- हामी गठबन्धन र त्यसको परिणामबाट असन्तुष्टमात्र होइन बेहद असन्तुष्ट छौँ । गठबन्धनको भूमिका पाँच दलका केही दलबाट भएन । यो कुरा हामीले पाँच दलीय बैठकमा पनि राखेका छौँ र अहिले समीक्षा गरिरहेका छौँ ।

आज शनिबार छलफलमा नअटाएका शीर्षकमा आइतबार छलफल जारी रहने र छलफलबाट प्राप्त प्रतिवेदन सचिवालय हुँदै अन्य कमिटीमा थप छलफलका लागि पेस गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *