भातृत्व विकास गर्न प्रहरी प्रतिबद्ध हुनुपर्छ : आईजिपी सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले काठमाडाैँ उपत्यका प्रहरी कार्यालय, काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले व्यावसायिक रूपमा निर्वाह गरेको जिम्मेवारी र भूमिकाको प्रशंसा गर्दै सम्पूर्ण म्यादी प्रहरीहरूले समेत अत्यन्त राम्रो काम गरेको बताए ।

उपत्यकास्थित प्रहरी कार्यालयहरूले गर्ने कामबाट देशभरिको पुलिसिङ मापन हुने हुनाले उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई रोलमोडल भई उदाहरणीय काम गर्न उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सिंहले कामप्रतिको प्रतिबद्धताको अझै बढी खाँचो रहेको उल्लेख गर्दै प्राप्त चुनौती र अवसरलाई आफ्नो वृत्ति विकासको एक हिस्साको रूपमा लिई अगाडि बढ्नुपर्ने बताए । के गर्दा पुलिसिङ अझै राम्रो बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिई काम गर्नुपर्नेमा जोड दिँदै उनले आपराधिक तत्वसँग साँठगाँठ, प्राकृतिक स्रोतको दोहन लगायत जस्तोसुकै गैरकानुनी काममा संलग्न रहेको पाइएमा जोकोहीलाई कारबाहीको दायरामा ल्याइने बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम राज सुवेदीले संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 17 =