श्रीमानबाट क्रुर हत्या भएकी गीताकाे दाहसंस्कार पालिकाले गर्ने, न्यायका लागि सहयाेग गर्न प्रहरीकाे अपिल

चितवन । चितवनमा बढ्दै गएको महिला माथिको हिंसा तथा न्यायिक प्रकृयामा पीडित होस्टायल हुने, साक्षी नपाइने जस्ता समस्या बढ्दै गएपछि प्रहरीले सर्वपक्षीय सरोकारवालासँग छलफल तथा न्यायिक निरुपणका क्रममा सहायता माग्न थालेको छ ।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० की गीता माझीको क्रूर श्रीमानले मलद्वारबाट लट्ठी घुसाएर हत्या भएपछि प्रहरीले उक्त घटनाको न्यायिक निरुपणको क्रममा पनि सरोकारवालाहरूको सहयोग मागेको हो ।
चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले यहाँका अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधिसमेतको बैठक राखी न्यायिक क्रममा सहयोगको अपिल समेत गरेका छन् ।
गीताको हत्या आफ्नै श्रीमानबाट भएकोले अहिले उजुरी गरेपनि न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा उजुरी गर्ने छोरीको मन बदलिन सक्ने भएकोले स्थानीय जनप्रतिनिधि तथा अधिकारकर्मीले बयान, साक्षी लगायतको लागि सहयोग गरिदिनुपर्ने उनको भनाइ थियो ।
‘हिजोसम्म हामीले उजुरी गरिदिने मान्छे नपाएर आफ्नै प्रतिवेदनको भरमा मुद्दा अगाडि बढाउनुपर्ने अवस्था आयो, प्रहरी प्रमुख अधिकारीले छलफलका क्रममा भने, ‘हत्या, बलात्कार लगायतका महिलाका संवेदनशील घटनामा पीडित होस्टाइल भइदिने र साक्षी नआइदिने कारणले प्रहरी नै समस्यामा पर्ने गरेको छ ।’
प्रहरी प्रमुखको भनाइपछि चितवनका अधिकारकर्मी तथा जनप्रतिनिधिले गीताको हत्याको न्यायिक प्रकृयामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । गीताको घर भएको नगरपालिका खैरहनीकी उपप्रमुख कविता उप्रेतीले नगरपालिकाले नै घटना विवरण उल्लेख गरि पीडकलाई कारबाहीको लागि प्रहरीसँग अनुरोध गरेर पत्र पठाउने बताए ।
उनले गीताको दाहसंस्कार गर्दा लाग्ने खर्च खैरहनी नगरपालिकाले बेहोर्ने पनि जानकारी दिए । हाम्रो नगरभित्रका नागरिकको अभिभावकत्व लिनु हाम्रो दायित्व हो, उपप्रमुख उप्रेतीले भने, ‘गीताको दाहसंस्कारमा लाग्ने खर्च नगरपालिकाले बेहोर्छ ।’
त्यसैगरी स्थानीय जनप्रतिनिधिले आफूले देखेको घटनाको बारेमा जुनसुकै अवस्थामा पनि प्रहरीलाई सहयोग गर्ने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाए । घटना भएदेखि नै गीतालाई सहयोग गर्दै आउनुभएकी खैरहनी १० की वडा सदस्य ज्ञायन्ती पासवानले भन्नुभयो, ‘उनको पहिलो अवस्था मैले देखेको हो, जहाँ गएर पनि भन्न तयार छु ।’
गीताका श्रीमान रामचन्द्र माझी प्रहरी हिरासतमा छन् । उनी विरुद्ध घटनाको पाँच दिनपछि उनकी छोरी पुष्पा माझीले बलात्कार तथा ज्यान मुद्दामा उजुरी दर्ता गरेकी छिन् । मंगलबार नै पोस्टमार्टम गरि गीताको शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको छ ।
गीताका १५ र १३ वर्षका दुई छोरीहरूको संरक्षण गर्ने पनि यहाँका अधिकारकर्मीहरूले प्रतिवद्धता जनाएका छन् । गीताका दुबै छोरीले पढ्न छाडेकाले उनीहरूलाई नगरपालिकाको संरक्षणमा सीपमूलक तालिम दिने प्रतिवद्धता जनाएका हुन् । गीताको मृत्यु र विपन्न अवस्थाबारे आइएनएसमा समाचार प्रकाशित भएपछि उनको किरिया खर्चको लागि केही व्यक्ति तथा संस्थाले पनि स्वेच्छिक सहयोग गरेका छन् ।
चितवन स्थित जिल्ला नेपाल बाल संगठनले गीताको किरियाको लागि सहयोग भनेर १० हजार रुपैयाँ उपलब्ध गराएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले १५ हजार, बागमती प्रदेश सांसद रीना गुरुङले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै विभिन्न व्यक्ति तथा संस्थाले स्वेच्छिक रुपमा दिएका ३१ हजार दश रुपैयाँ उपमेयर उप्रेती मार्फत छोरी पुष्पा माझीलाई हस्तान्तरण गरिएको छ । चितवनकी अधिकारकर्मी देविका कुँवरले स्वेच्छिक रुपमा आएका उक्त रकम संकलन गरि हस्तान्तरण गरेका हुन् । स्राेतः INS न्यूज
याे पनिः









