थासाङ गाउँपालिका अध्यक्ष भन्छन्- ‘१३ शव भेटिए, काठमाडाैँ पठाउन २/३ दिन लाग्न सक्छ’

काठमाडाैँ । मुस्ताङकाे थासाङ गाउँपालिका २ मा दुर्घटना भएकाे तारा एयरको विमानमा अहिलेसम्म १३ शव भेटिएकाे छ । सवार २२ जनामध्ये १३ जनाकाे शव भेटिएकाे तर पहिचार गर्न भने गाह्राे भएकाे थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गाैचनले बताए । ‘अहिलेसम्म १३ वटा शव भेटिएका छन्,’ अध्यक्ष गाैचनले मकालुखबरसँग भने, ‘अन्य शव भेटिएकाे छैन । भेटिएका शवबाट पहिचान गर्न गाह्राे परेकाे छ ।’
तारा एयरकाे ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हिजाे दिनभर खाेज्दा नभेटिएकाे विमान साेमबार बिहान मानापाथी हिमालकाे फेदमा भेटिएकाे हाे । अहिले दुर्घटना क्षेत्रमा बाक्लाे हुस्सु लागेकाेले पनि शव ल्याउन केही दिन लाग्नसक्ने अध्यक्ष गाैचनले बताए । ‘हामी दुर्घटना भएकाे क्षेत्रकाे तल बेसमै छाैँ । केही टाेली माथि पुगेका छन् र हामी नियमित सम्पर्कमा छाैँ । संङ्कलित शव ल्याउन कठिन छ । सडक सञ्जाल जाेडिएकाे छैन । हेलिकाेप्टर जान माैसमी समस्या छ । मान्छेले बाेकेर ल्याउने कुरा कति सम्भव हुन्छ, त्याे हेर्दैछाैँ । यसाे हुँदा शव यहीँसम्म ल्याउनै १/२ दिन लाग्ने सम्भावना छ । काठमाडाैँ कसरी पठाउने भन्नेबारे साेच्दैछाैँ ।’
विमानमा चालकदलका ३ सदस्यसहित २२ जना सवार थिए । दुर्घटनास्थलमा पुगेका स्थानीय बासिन्दाले शवहरू यत्रतत्र छरिएको अवस्थामा देखिएको बताएका छन् ।








