जितनजिक बालेन, कसले कति मत पाए ? यस्तो छ पछिल्लो नतिजा

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)ले ५४ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ५४ हजार ७३९ मत ल्याएका हुन् । योसँगै उनी जितनजिक पुगेका छन् ।
काठमाडौंमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो । अहिलेसम्म करिब १ लाख ६७ हजार मत गणना भइसकेको छ भने करिब २४ हजार मत गन्न बाँकी रहेको छ ।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० मत पाएकी छन् । बालेन र सिर्जनाबीचको मतान्तर २० हजार १६९ छ । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार ९२१ मत पाएका छन् । अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।
यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको हो ।
अब करिब २४ हजार मत गन्न बाँकी रहेकोमा उनको अग्रता ४० हजारको छ । उनले ६० हजार मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् ।









