सबै सहर श्रमिकको मेहनतबाट बनेका हुन् : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदुरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गरे ।
विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उनकाे भनाइ छ । उनले भने, “मजदुरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदुर नै बनाउने सोच पाइन्थ्यो ।” मजदुरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रूपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताए ।
विभेद र अत्याचार भएपछि मजदुर एकताबद्ध भएर आन्दोलन सुरु गरेको अध्यक्ष ओलीको भनाई छ । “त्यतिबेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको पाइन्थ्यो” उनले भने, “वर्गीय समाज बनेदेखि नै मजदुरलाई विभेद हुँदै आयो ।”
फरक प्रसङ्गमा अध्यक्ष ओलीले अहिले काठमाडौँ महानगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदका उम्मेदवार सक्षम र सबल रहेको उनले दावी गरे । एकजना अनुभवी र अर्का युवा जोश भएकाले त्यो दुई कुराको संयोजन सकारात्मक रहेको उनले जिकिर गरे । हाल प्रमुखका उम्मेदवारले यसअघि प्रमुख हुँदा सकारात्मक काम सुरु गरेको र उपप्रमुख डङ्गोल युवा, महिला, नयाँ पुस्ताका र काठमाडौँका स्थानीयको प्रतिनिधिका रूपमा रहनुभएको उनकाे तर्क थियो । अहिले सबैतिर एमालेका पक्षमा लहर रहेकोसमेत उनले दावी गरे ।
सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाई एमालेले गर्ने अध्यक्ष ओलीले बताए । “शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन र उनीहरूलाई सम्मानजनक बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको हो”, उनले दोहोर्याए ।
उद्योग, श्रम, कृषि, व्यापार, बजार, सुरक्षा, सम्पदा, प्राकृतिक, नदीनालालगायतका क्षेत्रमा सुधारको नेतृत्व एमालले गरेको बताए । उनले भने, “हाम्रो पहलमा बागमती, विष्णुमतिजस्ता धार्मिक नदी सफा गर्न अनेकन काम सुरु गरिएको थियो, अहिले त्यसमा केही सुधार आएको छ ।”









