निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृति

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् ।
उहाँले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयानुसार नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालन गर्न आज स्वीकृति प्रदान गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालनको लागि यही चैत १७ गते सिफारिस गरेको थियो । साथै मन्त्रिपरिषद्को यही २४ गतेको बैठकले पनि सो सम्बन्धमा निर्णय गरेको थियो ।








