बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ ।

प्रहरीको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बूढानीलकण्ठ नगरपालिका-३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमबार बेलुका सकुसल उद्धार गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सोमबार दिउँसो २ः३० बाट हराएकी शेर्पाको साँझ ६ः३५ बजे इनारबाट सकुसल उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकी शेर्पा हरि श्रेष्ठको घरमा डेरा बस्दै आएकी थिइन् ।

‘अचेत अवस्थामा रहेकी शेर्पालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो, शेर्पाको अहिले बूढानीलकण्ठ नगरपालिका-१३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने ।

अचेत अवस्थामा रहेकी शेर्पा अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =