चितवन निकुञ्जले जलायो कुसुमखोलाको १० घर

काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आगजनी गरिदिएको छ । निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीय बासिन्दाको १० घरमा आज आगलागी गरिदिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद यादवको नेतृत्वमा गएका नेपाली सेना सहितको टीमले स्थानीयको घरमा आगो लगाएका हुन् । ‘एकपटक स्थानान्तरण गरिसकेपछि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय र भौतिक क्षति नहुने गरि नयाँ बनाइएको संरचनामा मात्रै आगो लगाइएको हो ।’

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भने आफूलाई आगलागीबारे पूर्ण जानकारी नभएको बताउहुन्छ । गणेशप्रसादले भन्नुभयो, ‘निकुञ्ज विभागबाट जानकारी आएपछि मात्रै मैले घटनाबारे जानकारी दिन सक्छु ।’ स्थानीय बासिन्दाले भने निकुञ्ज प्रशासनले नागरिकता समेत जलाइदिएको आरोप लगाएका छन् । उनीहरूले स्थानीय बासिन्दाको नागरिकता सहितको महत्वपूर्ण कागजात समेत निकाल्न नदिइ घरमा आगजनी गरेको आरोप लगाएका छन् । माडीका अगुवा स्थानीय श्रीप्रसाद दवाडीले स्थानीयले आकाश भुजेलको घर र नागरिकता समेत जलाइदिएको आफूलाई जानकारी आएको बताए ।

माडी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा माडी नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीले कुसुमखोलामा निकुञ्ज प्रशासनले आगो लगाएको भन्ने जानकारी आएको तर, आधिकारिक तथ्यांक भने नआएको जानकारी दिए । आज ढिलो जानकारी आएकोले भोलि गएर आधिकारिक जानकारी लिने बताए । माडी नगरपालिका वडा नम्बर ९ मा पर्ने कुसुमखोलामा यसअघि पनि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको थियो । उक्त क्षेत्र निकुञ्ज भित्र पर्ने भन्दै २०७७ साल भदौ महिनामा स्थानीयलाई हटाउन निकुञ्ज प्रशासनले आगजनी गरेको थियो ।

यसअघि माडी नगरपालिकाले कुसुमखोला लगायतका निकुञ्जको क्षेत्रका बासिन्दाहरु बाढी, जंगली जनावरको जोखिममा रहेको भन्दै दुई सय भन्दा बढी घरधुरी स्थानान्तरण गरेको थियो। त्यस क्षेत्रका सुकुम्बासीलाई माडीको ७, ८ र ९ नम्बर वडाका विभिन्न क्षेत्रमा राखिएको छ । चितवनको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको पूर्ण मध्यवर्ती क्षेत्रमा पर्दछ ।

उक्त क्षेत्रका निकुञ्ज छेउछाउ अव्यवस्थित बसोबास गर्ने सुकुम्बासीहरुको स्थायी बसोबासको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद पनि हुँदै आएको छ । पछिल्लो समय सरकारले भूमीहीनहरुलाई बसोबास गरिरहेको स्थलको जमिनको निस्सा वितरण गरिरहेकोले बसोबास स्थानान्तरण गरिएकाहरू पनि पुनः कुसुमखोला फर्किएर घर निर्माण गरेको निकुञ्ज स्रोतको दाबी छ । स्राेतः INS न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =