हेर्दा आकर्षक तर प्राविधिक त्रुटिपूर्ण बस्ती

लाप्राक । हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर बाहिरबाट जति आकर्षक छन्, तिनको भित्री संरचना भने ज्यादै कमजोर छ ।

२०७२ सालको भूकम्प प्रभावितका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बनाइदिएका नमुना बस्तीमा धेरै प्राविधिक त्रुटि रहेको स्थानीयवासीको गुनासो छ । निर्माण सकिएको एक वर्ष नबित्दै धेरै घरका झ्याल–ढोका काम नलाग्ने भएका छन् ।

प्रयोग गरिएका फलाममा खिया लाग्न थालेको छ । काठ पनि कुहिन थालेको स्थानीय मारसिंह गुरुङ बताउँछन् ।’बरन्डामा पानीले भिजेर फलामका खम्बा सबै खाइ (खिया) लागेको छ । काठ पनि पानीले भिजेर कुहिन थालेको छ,’ उनले भने , ‘न ती खम्बामा प्राइमर (खिया र पानीबाट बचाउने रङको पहिलो पत्र) लगाइदिनुभयो, न त हामीलाई नै लगाउन भन्नुभयो । त्यो नहुँदा एक वर्षमै घर काम नलाग्ने भइसके ।’

कुल ५७३ घरमध्ये करिब आधाजसोमा काठको खम्बा हालिएको छ भने आधा घरमा फलाम प्रयोग गरिएको छ । सम्झौताअनुसार काठ उपलब्ध नभएपछि बाँकी घरमा फलाम प्रयोग गरिएको वडाध्यक्ष राज गुरुङले बताए । ग्रामीण भेगका भुइँघरमा पनि प्लास्टिकका झ्याल-ढोका राखिदिँदा स्थानीयवासीले दुःख पाएका छन् ।

कतिपयले फेरेर काठका झ्याल-ढोका हालेका छन्, नसक्नेलाई चोरको डर छ । ‘राति सुत्दा पनि झ्याल-ढोका फोडेर चोर आउँछ कि भनेर डर लाग्छ,’ घर नम्बर एल-३७ की रीतिमाया गुरुङले भनिन् । जस्ता पनि कमसल रहेको उनको अनुभव छ । ‘कसैले एउटा सानो ढुङ्गाले हान्यो भने पनि फुट्ने रैछ,’ उनेले भनिन्, ‘फलाम खिया लाइसक्यो । राम्रो भए पनि नभए पनि यहीँ बस्नुप-यो । अन्त जाउँ ठाउँ छैन ।’ –गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 18 =