सिङ्गै राष्ट्रध्यक्षको जिम्मेवारी मेरै टाउकोमा हो किझैँ लाग्छ : प्रचण्ड

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको मात्र नभएर सिङ्गै राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति हुने गरेको बताएका छन् । शुक्रबार भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘म माओवादी केन्द्रको अध्यक्ष छु । दुई पटक देशको प्रधान मन्त्री भएँ । तर मलाई माओवादी केन्द्रको अध्यक्षजस्तो मात्रै लाग्दैन अचेल । सिङ्गै राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ जस्तो लाग्छ, देशमा संकट आयो, देशमा जस्तो हुन्छ, त्यो संकटबाट टार्नुपर्ने हुन्छ,’ उनले भनेका छन् ।

उनले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा एक्लै भारी बोक्नु परेकोजस्तो भइरहेको बताए । चितवनमा नेपाली कांग्रेसले एक्लै-एक्लै चुनावमा जाने बताइरहँदा गृह जिल्ला आइपुगेका प्रचण्डले आ-आफ्नै ढंगले गएको भए देशमा शान्ति प्रक्रिया हुन्थ्यो कि हुन्थेन सोच्न आग्रह गरे । उनले आ-आफ्नै ढङ्गले गएको भए शान्ति प्रक्रिया, संविधानसभा, संविधान केही पनि नबन्ने बताए । ‘आजभोलि केही साथीहरू भन्न थाल्नुभा’छ मिलेर जाने होइन आफ्नै आफ्नै ढंगले जानपर्छ भन्न थाल्नुभएको छ। ठिकै छ आफ्नै आफ्नै ढंगले जाने हो भने पनि हामीलाई कुनै आपत्ति छैन, त्यसरी जानपनि सकिन्छ । गिरिजाप्रसाद कोइरालाले जीवनको उत्तरार्द्धमा सहमति, सहकार्य र एकता मात्रै किन भनेको होला, नबुझेर त होइन होला नि ?,’ प्रचण्डले भनेका छन् ।

‘भरतपुर महानगरले सिंगो देशलाई सन्देश दिइरहेको छु’

प्रचण्डले भरतपुर महानगरपालिकाले विकासका दृष्टिले सिंगो देशलाई नै सन्देश दिएको दाबी गरे । ‘देशको मध्य भागमा रहेको यो महानगरले सिङ्गाे देशलाई सन्देश दिइ नै रहेको छ,’ उनले भनेका छन्, ‘भरतपुर महानगरले आफ्नो कार्यकालभरी नै विकासका दृष्टिले धेरै महत्त्वपूर्ण आयोजनाहरू अगाडि ल्यायो । देशभर नै विकासको गतिमा भरतपुर महानगरपालिका तीव्र गतिमा गइरहेको छ भन्ने मान्यता स्थापित भयो । भरतपुर महानगरपालिकाको देशभरी नै एउटा पहिचान बनेको छ । देश र देशबाहिर पनि भतरपुरको विकास मोडेल निकै चर्चित रह्यो । हाम्रा छिमेकीदेखि धेरै टाढा टाढासम्मका हाम्रा मित्रहरूले पनि भरतपुरलाई एउटा विशिष्ट महानगरका रुपमा हेरेका छन् ।’

यसो हुनुमा महानगरकी मेयरको दृढ इच्छाशक्ति र सकरात्मक सोच कारक रहेको प्रचण्डको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =