पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्दैछन् । नेपालकाे संसद्‌बाट एमसीसी पारित भएपछि प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । सम्मेलनमा प्रचण्डले एमसीसी पारितमा दलसँगै आफ्नाे भूमिकाबारे प्रष्ट्याउने उनकाे निजी सचिवालयका सदस्य रमेश मल्लले बताए । ‘त्यत्ति ठूलाे पत्रकार सम्मेलन हाेइन,’ केही एजेन्सीका साथीहरू आउनुहुन्छ र काेठामै बसेर अध्यक्षज्यूले उहाँमाथि उठिरहेकाे प्रश्नबारे प्रष्ट्याउनुहुन्छ ।’

एमसीसीमा प्रचण्डले द्धैध चरित्र देखाएकाे भन्दै उनकाे आलाेचना शुरू भएकाे छ । गठबन्धन जाेगाउने ध्येयका साथ अन्तिममा आएर व्याख्यात्मक घाेषणासहित एमसीसी पारित गराउन राजी भएका उनकाे पार्टीभित्रै पनि आलाेचना भइरहेकाे छ ।

यस्तै उनले प्रधान मन्त्री शेरबहादुर देउवासँगै एमसीसी पारित गर्ने प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको थियो । तर माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत् एमसीसीकाे विपक्षमा उभिने निर्णय गरेको थियाे । माओवादी केन्द्रले एमसीसीकाे विरोधमा सडक आन्दोलनसमेत गरेको थियाे ।

यसपछि अन्तिममा आएर माओवादी केन्द्र एमसीसीकाे पक्षमा उभिने निष्कर्षमा पुगेकाे थियाे । एमसीसी फागुन १५ गते संसद्‌बाट पारित भएकाे छ । यसपछि यहीसँग जाेडिएर विकसित राजनीतिक घटनाक्रमबारे प्रष्ट्याउन प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । सम्मेलन दिउँसो ३ बजे हुँदैछ खुमलटारमै हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =