सात महिनामा साढे ११ खर्बको आयात, व्यापार घाटा १० खर्ब १५ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्ष (२०७८/७९)को पहिलो ७ महिना (माघ)सम्ममा नेपालमा कुल ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो वर्ष यही अवधिसम्ममा भएको आयातभन्दा ४२.७८ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्ममा यस्तो आयात ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँमा सीमित थियो ।

भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालबाट हुने निर्यात समेत अघिल्लो वर्षको तुलनामा ८८.३ प्रतिशतले बढेको छ । तर, आयातको तुलनामा निर्यातको अनुपात निकै कम छ ।

चालू वर्ष पहिला ७ महिनामा कुल १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको निर्यात भएको छ । गत वर्ष यही अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँको निर्यात भएको थियो ।
यस आधारमा नेपालको वैदेशिक व्यापार घाटा गत वर्षको तुलनामा ३८.४५ प्रतिशतले बढेर १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लख रुपैयाँको व्यापार घाटा रहेको थियो ।

पहिलो ७ महिनामा नेपालको कुल वैदेशिक व्यापारको आकार भने ४६.४३ प्रतिशतले बढेर १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँको पुगेको छ । गत वर्ष यही अवधिमा कुल ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख रुपैयाँको कुल वैदेशिक व्यापारको आकार रहेको थियो ।

कुल व्यापारमा निर्यातको हिस्सा भने १०.२९ प्रतिशत पुगेको छ । आयातको हिस्सा ८९.७१ प्रतिशत छ ।

आयातको परिमाण बढ्नु, वस्तुको मूल्य बढ्नु(डलर महँगिनु), कारोनाको तेस्रो लहरका कारण आयात–निर्यात व्यापारको लागत बढ्नु जस्ता कारणले नेपालको वैदेशिक व्यापार घाटा बढेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =