कांग्रेस बागमतीको बैठकले गर्यो सात निर्णय

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको दोस्रो बैठक सात निर्णय गर्दै सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा बसेको बैठक विभिन्न सात निर्णय गर्दै आइतबार सम्पन्न भएको हो ।
दोस्रो पूर्ण बैठकले जगदिश्वरनरसिंह केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ । यस्तै आगामी दिनमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा अघिल्लो स्थानीय निकाय निर्वाचनमा भएको मतसंख्यासहितको तथ्याङ्क गर्ने निर्णय गरिएको छ ।
बैठकले आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय निकायमा पठाउने निर्णय गरेको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए । उनकाअनुसार एमसिसीको सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी आमजनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी स्थानीय निकायमा पठाई जनतालाई बुझाउने निर्णय भएको छ ।
त्यस्तै बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति विभागका सदस्यहरूको मासिक लेवि तोकेको छ । साथै कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवि प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री श्रेष्ठले जानकारी दिए ।
बैठकले प्रदेशको प्रधान कार्यालय हेटौँडा र काठमाडौँको सम्पर्क कार्यालय नियमित सञ्चालन गर्दै पार्टीको दैनिक राजनीतिक कार्यक्रम सुरु गर्ने, प्रदेश सदस्यहरूको मर्यादाक्रम मिलाउन संयोजक महामन्त्री कञ्चनचन्द्र बादे र सदस्यहरूमा सहमहामन्त्री जीवन डंगोल र ऋषिराम घिमिरे तोकिएको छ भने प्रदेशको दोस्रो पूर्ण बैठक सिन्धुपाल्चोकको सुकुटेमा सफलतापूर्वक सम्पन्न गर्न सिन्धुपाल्चोक कांग्रेस र केन्द्रीय सदस्य मोहन बस्नेतलाई विशेष धन्यवाद दिने निर्णय गरेको छ ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षता तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्ययतामा भएको बैठकमा प्रदेश पदाधिकारी, सदस्यहरू, जिल्ला सभापतिहरूले एमसीसी, स्थानीय निकायको निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा प्रदेशले गर्नुपर्ने कार्यको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।









